‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण घोषणा

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण घोषणा


काठमाडौं ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ। नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गरिएको छ।

सेभेन सिजले फिल्मलाई २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य लिएको छ। मोसन पोस्टरमा एक व्यक्ति बच्चालाई काँधमा बोकेर सारङ्गी बोकेर हिँडिरहेको देख्न सकिन्छ।

संवादसहितको मोसन पोस्टरमा बच्चाले बाबुलाई ‘तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ?’भनी सोध्छन्। जवाफमा बाबुले ‘म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर’ भन्छन्।

फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा देखाउनेन निर्माण पक्षले जनाएको छ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन रहनेछ। रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत हुनेछ।