एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै, यस्तो छ हेड टु हेड

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै, यस्तो छ हेड टु हेड


काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग भिड्ने भएको छ।

नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ। प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ। सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ।

नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो।

त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो। प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो।

नेपाल र यूएईबिच हालसम्म नौवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ। त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा यूएई विजयी भएका छन्। घरेलु मैदानमा नेपालले तीन र यूएईले एक खेल जितेका छन्।

प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र यूएईले एक खेल जितेका छन्। ‘न्यूट्रल भेन्यू’ मा भने यूएईले दुई खेल जितेको छ।