भिक्टोरियावासी सुदूर पश्चिमेलीले मनाए ‘बिसु पर्व’ 

भिक्टोरियावासी सुदूर पश्चिमेलीले मनाए ‘बिसु पर्व’ 


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने सुदूर पश्चिमेलीले नेपाली नयाँ वर्ष तथा ‘बिसु पर्व’ मनाएका छन्। फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरियाले आयोजना गरेको  ‘विसु पर्व’ भव्यवताका साथ मनाएका हुन्। 

सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व आइतबार मेलबर्नको स्टोनिया हाउसमा भिक्टोरियावासी नेपाली जम्मा भएर नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै  ‘बिसु पर्व’ मनाएको सोसाईटीका उपाध्यक्ष दिप चन्दले बताए। 

कार्यक्रममा किड्स फेस पेन्टिङ, सांस्कृतिक नित्य प्रस्तुति, देउडा खेला तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले सहभागीहरू रमाएको उनले बताए। सोसाईटीले कार्यक्रममा सहभागीलाई सफ्ट ड्रिंक तथा खाना खुवाएको कार्यक्रममा संयोजकसमेत रहेका चन्दले बताएका छन्। कार्यक्रममा दुई सय भन्दा बढीको सहभागिता रहेको उनले बताए। अंशु महरा, सलोनी मास्के र प्रतिभा शाहले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने भूपी चन्द र महेश जिरेलको गीत गाएका थिए। बालकालकार लेह रावलले पनि प्रस्तुति राखेको उनले बताए। यसै गरी कार्यक्रममा क्रिकेट खेलाडी, कलाकार तथा स्वयंसेवकहरुलाई सम्मान व्यक्त गरिएको उपाध्यक्ष चन्दले बताए।

सोसाईटीका अध्यक्ष नरेश रावलले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि ब्रोडमिडोजबाट प्रतिनिधित्व गर्ने सांसद क्याथलिन म्याथ्यू वर्ड रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि  म्याथ्यू वर्ड, न्याभ संस्थापक अध्यक्ष डा. राजु अधिकारी, न्याभ अध्यक्ष प्रेम राज उप्रेती, एनआरएनए भिक्टोरिया उपाध्यक्ष महादेव धानुक लगायतले धारणा राखेका थिए।

कार्यक्रममा नर्दन मेट्रोपोलिटन लेजिस्लेटिभ काउन्सिलबाट एभान मल्होल्याण्ड, वेस्टर्न मेट्रोपोलिटन काउन्सिलकाट ट्रुग लु, मेरी बेक सिटी काउसिन्लका सु बोल्टन लगायतका विभिन्न नेपाली सामुदायिक संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो। 

सोसाईटीले आयोजना गरेको ‘बिसु पर्व’ विशेष कार्यक्रमलाई एनआरएनए भिक्टोरिया, न्याभ, एएनएमसी, भिक्टोरिया राज्य सरकार र भिक्टोरियन मल्टिकल्चरल कमिसनले साथ दिएको थियो। 

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाइँदै आएको छ। हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले ‘बिसु पर्व’का रूपमा मनाउने गर्दछन्। 

बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ। ‘बिसु’का दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने जनविश्वास छ। देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्याप्दै ‘बिसु पर्व’ मनाउने चलन रहेको छ।