बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा

बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा


काठमाडौं ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले युुइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ। स्पेनिस क्लब बार्सिलोनामाथि ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दा समग्रमा पीएसजी ६–४ गोल अन्तरले विजयी हुँदै अन्तिम चारमा पुगेको हो।

पहिलो लेगमा ३–२ ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४–१ ले पराजित भएपछि क्वाटरफाइनलबाटै विदा भएको हो।

बार्सिलोनाको मैदानमा घरेलु टोलीले राफिनाको गोलमा अग्रता लिएको थियो। लामिन यमालको पासमा राफिनाले गोल गरेपछि बार्सिलोना सहज अवस्थामा देखिएको थियो। तर, २९ औं मिनेटमा रोनाल्ड आराउहो रातो कार्ड पाउँदै मैदान छाडेपछि त्यसको असर बार्सिलोनाले खेलअवधिभर नै भोगेको थियो।

१० खेलाडीमा सीमित भएको बार्सिलोनामाथि क्रमश हाबी हुँदै पीएसजीले ४० औं मिनेटमा बराबरी गोल गरेको थियो। ओस्मन डेम्बेलेले ब्राड्ले बारकोलाको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै खेलमा फर्काए।

५४ औं मिनेटमा असरफ हकिमीको पासमा भिटिन्हाले गोल गरेपछि पीएसजीले २–१ को अग्रता लिँदा पहिलो लेगको नतिजाका कारण समग्रमा ४–४ को अवस्थ पुगेको थियो। त्यसपछि केलियन एम्बाप्पेले ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ ले अघि बढाएका थिए।

उनै एम्बाप्पेले ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले दोस्रो लेगमा ४–१ को शानदार जित दर्ता गरेको हो। अब सेमिफाइनलमा पीएसजीले बोरुसिया डर्टमन्डसँग खेल्ने छ। बोरुसिया डर्टमन्डले एट्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।