चौथो न्याभ मल्टीकल्चरल सकर प्रतियोगिताको उपाधि यूनाइटेड क्लबले जित्यो

चौथो न्याभ मल्टीकल्चरल सकर प्रतियोगिताको उपाधि यूनाइटेड क्लबले जित्यो


मेलबर्न, अष्ट्रेलिया । चौथो मल्टीकल्चरल सकर प्रतियोगिताको उपाधि यूनाइटेड फुटबल क्लबले जितेको छ। रोयल वेस्टन्स क्लबसँगको सहकार्यमा नेपाली संघ भिक्टोरिया (न्याभ) ले आयोजना गरेको चौथो बहुसांस्कृतिक फुटबल प्रतियोगिताको उपाधि यूनाइटेड फुटबलले जितेको हो। 

शनिबार मेलबर्नको प्रोग्रेस रिजर्भ प्लेग्राउण्ड कूलारुमा भएको फाइनल खेलमा यूनाइटेडले सुडान लायन्स क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको न्याभका कार्यकारी सदस्य तथा यो प्रतियोगिताका संयोजक उज्वल अधिकारीले जानकारी दिए। 

प्रतियोगिताको बेस्ट प्लेयरमा यूनाइटेड फुटबल क्लबका दर्शन गुरुङ घोषित भए भने फिजी बुला बोइज फेयर प्ले टिम बनेको थियो। १२ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेता र उपविजेतालाई ट्रफी, मेडल र सम्मान पत्रले सम्मान गरिएको संयोजक अधिकारीले बताए। एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपाली समुदायका ६ र अन्य समुदायका ६ गरी जम्मा १२ टोलीले सहभागिता जनाएको उनले बताए। 

न्याभका अध्यक्ष प्रेम राज उप्रेतीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा सांसद क्याथलिन म्याथ्यू, सांसद ट्रुङ लू, भिक्टोरियान मल्टीकल्चरल कमिशनका अध्यक्ष भिभियन न्यूगेन, ह्युम सिटीका मेयर नाइम कर्ट, रोयल वेस्टन्स क्लबका अध्यक्ष रोशन दाहाल, एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसका निर्देशक बसन्त पोखरेल, न्याभका कार्यसमिति सदस्य तथा प्रतियोगिताका संयोजक उज्जवल अधिकारीले धारणा राखेका थिए।

न्याभले बिगत ४ वर्षदेखि न्याभ कप गर्दै आएको छ। न्याभ कप २०२३ को उपाधि रोयल वेस्टर्न क्लबले जितेको थियो।