पहिलो ‘डिएफसी कप’को उपाधि लन्चेस्टन नेप्लिज सकर क्लबले चुम्यो

पहिलो ‘डिएफसी कप’को उपाधि लन्चेस्टन नेप्लिज सकर क्लबले चुम्यो


तास्मानिया, अष्ट्रेलिया । दाजुभाई फुटबल क्लबले आयोजना गरेको डिएफसी कप २०२४ को उपाघि लन्चेस्टन नेप्लिज सकर क्लब (एलएनएससी) ले जितेको छ। आइतबार डेम्पियर स्ट्रीट वारेन फुटबल ग्राण्डमा भएको फाइनल खेलमा भुटानीज कम्युनिटी एसोसियसन साउदर्न तास्मानिया (बीसिएएसटी)लाई ८–१ गोल अन्तरले हराउँदै लन्चेस्टन नेप्लिज सकर क्लब उपाधि उचालेको हो। 

उपाधि जितेसँगै एलएनएससीले ट्रफी, मेडल, प्रमाणपत्र र एक हजार पाँच सय अष्ट्रेलियन डलर नगद प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको बीसिएएसटीले ट्रफी मेडल, प्रमाणपत्र र ७५० अष्ट्रेलियन डलर पाएको छ। प्रतियोगिताको उत्कृष्ट गोलकिपर लन्चेस्टन नेप्लिज सकर क्लबका सुशिल नेमाङ, टप स्कोरर सोनाम तामाङ र म्यान अफ दी फाइनल म्याच रवि तामाङ घोषित भए। उत्कृष्ट खेलाडीलाई मेडल प्रदान गरिएको डिएफसीका कोषाध्यक्ष प्रवेज थापाले जानकारी दिए। 

यो फुटबल प्रतियोगितामा ७ टिमले सहभागिता जनाएको थापाले बताए। उनका अनुसार डिएफसी रेड (DFC red), डिएफसी ब्लू (DFC blue), बीसीएएसटी फुटबल क्लब (BCAST), एबीएसएनटी फुटबल क्लब (ABSNT), नेप्लिज फुटबल क्लब तास्मानिया (NFCT), लन्चेस्टन नेप्लिज सकर क्लब (LNSC) र खुकुरी फुटबल क्लब रहेका छन्। 

डीएफसीका अध्यक्ष प्रकाश पाण्डेले प्रतियोगितामा सहभागी टिम, खेलाडी, प्रायोजक र टुर्नामेन्टलाई भव्यताका साथ सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। अध्यक्ष पाण्डेले नेपाली नयाँ वर्ष को शुभकामना समेत दिएका छन्। उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

सफायर स्टेट एजेन्टस् टाइटल स्पोन्सर रहेको फुटबल प्रतियोगितालाई क्यापकन होम लोन होबार्ट, नेभिगेट भिसा एण्ड एजुकेसन, बुद्ध एसियन ग्रोसरी, लंघाली क्याफे एण्ड रेस्टुरेन्ट, वती अष्ट्रेलिया वाइड ट्रेनिङ इस्टियुटले सघाएका थिए।