अष्ट्रेलियामा पहिलो पटक ‘मेडइन नेपाल एक्स्पो’ हुँदै

अष्ट्रेलियामा पहिलो पटक ‘मेडइन नेपाल एक्स्पो’ हुँदै


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियामा पहिलो पटक ‘मेडइन नेपाल एक्स्पो २०२४’ हुने भएको छ। नेप्को इन्टरटेनमेन्टले अप्रैल २७ तारिख मेलबर्नको ४९५ ल्यागोन स्ट्रिटमा मेडइन नेपाल एक्स्पो गर्न लागेको हो। नेपालमा उत्पादित बस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारको पहुँचमा ल्याउन ‘मेडइन नेपाल एक्स्पो २०२४’ को आयोजना गरिएको नेप्को इन्टरटेनमेन्टका निर्देशक डिबी थापाले जानकारी दिए। 

हस्तकलाका सामाग्री, गारमेटन्टबाट उत्पादित बस्तुलगायतका २५ वटा नेपाली उत्पादनका बस्तु प्रदर्शनीमा राखिने उनले बताए। एक दिन चल्ने एक्स्पोमा २० ओटा स्टलबाट नेपाली बस्तुहरूको प्रदर्शनी गरिने उनको भनाइ छ। मेडइन नेपाल एक्स्पोले अष्ट्रेलियामा बजार खोज्ने नेपाली उत्पादन कर्तालाई सहज बनाई दिने निर्देशक थापाले दाबी गरे। कम लगानी भएका र अन्तर्राष्ट्रिय बजारमा पहुँच नभएका घरेलु उद्योगीले प्रत्यक्षरूपमा लाभ लिन सक्ने छन् उनले भने। 

एक्स्पोमा प्रदर्शनीमा राख्ने स्टलको पाँच सय अष्ट्रेलियन डलर तोकिएको उनले बताए। एक्स्पोमा उपस्थित हुन नसक्ने उद्योगीका लागि आयोजकले नै स्टलको व्यवस्थापन गर्ने उनले बताए। 

एक्स्पोमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लगायत केही व्यवसायी हुने उनले बताए। व्यक्तिगत तहबाट नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्ने प्रयास गरेको भन्दै निर्देशक थापाले अष्ट्रेलियावासी नेपालीहरूलाई सहयोगका लागि अपिल पनि गरेका छन्।