‘डिग्री माइला’ : भरपुर मनोरञ्जन र सन्देशमुलक

‘डिग्री माइला’ : भरपुर मनोरञ्जन र सन्देशमुलक


काठमाडौं ।

शुक्रबार(आज)बाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’ले बिहीबार साँझ राजधानीमा प्रिमियर गरेको छ। दयाहाङ राई तथा आँचल शर्माको मुख्य अभिनय रहेको फिल्मले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले उसँग राखेको अपेक्षाबिचको द्वन्द्वलाई प्रस्तुत गरेको छ।

फिल्म हेरेपछि अभिनेत्री मिरुना मगरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन्। ‘सुरुमा हाँसिरहँदा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरालाई देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन।

अभिनेत्री लुनिभा तुलाधरले निर्देशक रामबाबु गुरुङको कामको तारिफ गरिन्। ‘उहाँले राम्रा कलाकारलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ। उहाँसँग त्यो कला छ । एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ। यसका लागि मंैले सम्मान गर्नैपर्छ’, उनले भनिन्।

अभिनेत्री श्रृजना सुब्बाले फिल्मको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन्। ‘एकदमै मन कस्तो भारी भइरह्यो। रामबाबुको राम्रो पक्ष चाहीं एकदमै गहन कुराहरुलाई रमाइलो रुपमा प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने काइदा एकदमै राम्रो छ’, उनले भनिन्।

अभिनेता दयाहाङले आफूले पहिलोपटक पूरै फिल्म हेरेको बताउँदै सबै कलाकारको अभिनय मनपरेको बताए। ‘मैले आफूलाई एकदमै इमान्दार भएर हेर्ने कोशिस गरें। हामीले जो मेहनत गरेका छौं, त्योचाहिँ छर्लगै देखिन्छ’, उनले भने।

संगीतकार चेतन सापकोटाले फिल्म हेरिरहँदा मनोरञ्जन लिएको भन्दै प्रशंसा गरे। अभिनेता शिव श्रेष्ठले राम्रो फिल्म बनेको भन्दै तारिफ गरे। निर्देशक दिनेश डिसीले फिल्ममा रामबाबु गुरुङ र दयाहाङको ब्राण्ड देखिएको बताउँदै फिल्मको कन्टेन्ट शिक्षाप्रद रहेको धारणा राखे।

एमाले नेता एवं संघीय सासंद रघुजी पन्तले फिल्ममा मनोरञ्जन रहेको र फिल्मले सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए।

‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ। टिपीकल रामबाबुको फिल्म हो। उनको स्टाइल हो ’, उनले भने। उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै देश छाडेर नजानसमेत आग्रह गरे।