नेपाली सोसाइटी अफ नर्दन तास्मानिया नेपाली नयाँ वर्षमा ‘कल्चरल परेड’ गर्दै

नेपाली सोसाइटी अफ नर्दन तास्मानिया नेपाली नयाँ वर्षमा ‘कल्चरल परेड’ गर्दै


तास्मानिया, अष्ट्रेलिया ।

नेपाली सोसाईटी अफ नर्दन तास्मानियाले नेपाली नयाँ वर्षको अवसरमा कल्चरल परेडको आयोजना गर्ने भएको छ। करी हाउसले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रम नेपाली नयाँ वर्षको दिन अर्थात अप्रिल १३ तारिख बिहान ११ बजे सिविक स्क्वायर लन्चेस्टनमा हुन लागेको हो।

लन्चेस्टनमा रहेका विभिन्न आप्रवासी समुदायले सहभागिता जनाउने उक्त परेड सिआईभिआईसी स्क्वायरबाट सुरु भएर चारलेस स्ट्रिट, पाटेरसोन स्ट्रिट, एसटी जोन हुँदै पुनः सिआईभिआईसी पुग्ने सोसाइटीका अध्यक्ष रविसिंह बिस्टले जानकारी दिए। नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्य रहेको कार्यक्रममा नेपाली र गैरनेपाली गरी पाँच सय बढीको सहभागिता रहने उनको भनाइ छ। कल्चरल परेडमा नेपाली राष्ट्रिय गान, लाखे नाच, पञ्चेबाजा सहितको झाँकी र नेपालका विभिन्न समुदायका मौलिक पोसकमा सुसजित सहभागीहरूसहितको परेडले बजार परिक्रमा गर्ने उनले बताए। ‘बजार परिक्रमा गरिसकेपछि सिआईभिआईसी स्क्वायर आएर कल्चरल परेडको समापन गरिने छ। त्यसपछि नेपाली लोक गीतमा मौलिक सांस्कृतिक प्रस्तुतिको कार्यक्रम राखेका छौँ’, उनले भने।

बाँसुरीको धुन, मादल, डम्फु, झ्याली र नरसिया आदीको पनि प्रदर्शन गरिने उनले बताए। कार्यक्रममा आएका अतिथिलाई नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको तर्फबाट नेपाली ढाकाको टोपी, खादा र मायाको चिनोबाट स्वागत गरिने कार्यक्रम रहेको उनको भनाइ छ। अन्तराष्ट्रिय स्तरमा हाम्रा विभिन्न धार्मिक, सांस्कृतिक, भेसभुसा, भाषा, शैली गीत–संगीत र खानाद्वारा नेपाल र नेपालीलाई परिचित गराउने र यसको सफलताले विदेशीलाई एक पटक नेपाल घुम्न जाऊँ(जाऊँ बनाई नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष बिस्टले बताए।

चाइनिज कम्युनिटी, स्थानीय सरोकारवाला, तास्मानियाको मल्टिकल्चरल काउनसिल, स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने ब्यक्तित्वहरुलाई कार्यक्रममा निम्ता दिएको उनले बताए। एनआरएनए अष्ट्रेलिया, एलएनसीसी, एलएनएससीको साथ रहेको कार्यक्रमलाई लन्चेस्टनका नेपाली तथा गैर नेपाली व्यवसायीले पनि सहयोग गरेको उनको भनाइ छ। यो कल्चरल परेड नेपालीहरूको गौरवको कार्यक्रम भएकोले लन्चेस्टनमा बसोबास गर्न नेपालीवासीहरुलाई उपस्थितिका लागि अध्यक्ष विष्टले आग्रह गरेका छन्।