‘डिग्री माइला’को भिक्टोरिया अधिकार मुग्लान इन्टरटेनमेन्टले पायो, अप्रिल १५ मा प्रिमियर ‘शो’ 

 ‘डिग्री माइला’को भिक्टोरिया अधिकार मुग्लान इन्टरटेनमेन्टले पायो, अप्रिल १५ मा प्रिमियर ‘शो’ 


मेलबर्न, अष्ट्रेलिया । नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को भिक्टोरिया प्रदर्शनको अधिकार मुग्लान इन्टरटेनमेन्ट हबले पाएको छ। यसअघि ‘महाजात्रा’को प्रदर्शन सफलतापूर्वक सम्पन्न गरेको मुग्लान इन्टरटेनमेन्ट हबले रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’लाई भिक्टोरियामा प्रदर्शन गर्न लागेको हो। 

अप्रिल १५ तारिख मेलबर्नको चाइना टाउन सिनेमा हलमा फिल्म ‘डिग्री माइला’को पहिलो ‘शो’ हुने मुग्लान इन्टरटेनमेन्ट हबका निर्देशक रोशन श्रेष्ठले जानकारी दिए। मेलबर्नपछि भिक्टोरियावासी नेपालीलाई समेटेर रिजनल एरियामा पनि फिल्म प्रदर्शनको तयारी गरेको उनले बताए। मेलबर्न, जिलङ, बल्लारातलगायत भिक्टोरिया राज्यका ५ सहरमा फिल्म प्रदर्शन गर्ने योजना छ, उनले भने। 

आइतबार साँझ ७ बजेबाट हुने डिग्री माइलाको प्रिमियर शो को सिट संख्या सीमित रहेकाले समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गर्न सबै नेपाली चलचित्र प्रेमी भिक्टोरियावासीलाई उनले आग्रह गरेका छन्। टिकट अनलाइनबाट खरिद गर्न सकिने उनको भनाइ छ। टिकट खरिद गर्न यहाँ क्लिक गर्नुहोला। 

फिल्मलाई अष्ट्रेलिया भरी प्रदर्शन गर्ने अधिकार सेभेन सिज इन्टरटेनमेन्टले पाएको छ। ‘डिग्री माइला’ तास्मानियाको होबार्ट र लन्चेस्टनमा पनि प्रदर्शन हुँदैछ। 

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमूख भूमिका रहेको छ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत मञ्चन भइसकेको छ। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् र सुस्मा फिल्मससँग मिलेर निर्माण गरेको फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ निर्माता छन्।

फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन्। फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पाश्र्व संगीत, शिवराम श्रेष्ठ तथा राइली एस शिनको छायांकन छ।