लिभरपुल पुनःशीर्ष स्थानमा

लिभरपुल पुनःशीर्ष स्थानमा


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल २४ घण्टाभित्रै शीर्ष स्थानमा फर्किएको छ। अघिल्लो दिन आर्सनल जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको थियो।

आर्सनल भन्दा १ अंकले पछि रहेको लिभरपुलले बिहीबार राति भएको खेलमा सेफिल्ड युनाइडलाई ३–१ गोल अन्तरले पराजित गर्दै तालिकामा ३ अंक थप गरेपछि शीर्ष स्थानमा २ अंकको अग्रता लिन सफल भयो। लिभरपुलले ३० खेलबाट ७० अंक बनाउँदा दोस्रो स्थानमा पुगेको आर्सनलको समान खेलबाट ६८ अंक रहेको छ।

बिहीबार राति लिभरपुललाई जिताउन डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्ट र कोडी गाक्पोले एक ,एक गोल गरेका थिए। त्यसैगरी शेफिल्डले भने गरेको एक गोल उपहार रह्यो। १७ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

५० औं मिनेटमा लिभरपुलका डिफेन्डर कोनोर ब्राडलेले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा प्रहार गरेपछि सेफिल्डले खेल बराबरीमा ल्याएको थियो। ७६ औं मिनेटमा एलेक्सिसले लुइस डियाजको पासमा गोल गर्दै २–१ को अग्रता दिलाए। ९० औं मिनेटमा कोटी गाक्पोले रोबर्टसनको पासमा गोल गरेपछि अन्ततः लिभरपुल ३–१ को जितका साथ शीर्ष स्थानमा फर्किन सफल भयो। पराजित भएको सेफिल्ड युनाइटेड भने १५ अंकका साथ पुछारमा रहेको छ।