‘महाजात्रा’को अष्ट्रेलिया कलेक्सन दुई लाख डलर नाघ्यो, ‘शो’ थप्दै फिल्म वितरक

‘महाजात्रा’को अष्ट्रेलिया कलेक्सन दुई लाख डलर नाघ्यो, ‘शो’ थप्दै फिल्म वितरक


मेलबर्न अष्ट्रेलिया ।

षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग फिल्म ‘महाजात्रा’ ले अष्ट्रेलियामा राम्रै व्यपार गरेको छ। गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्मले अष्ट्रेलियामा दुई लाख अष्ट्रेलियन डलर कलेक्सन गरेको छ।

फिल्म ‘महाजात्रा’ लाई देशकै ठूलो चेन क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ घोषणा गरिसकेको छ। क्युएफएक्सले कुनै पनि नेपाली फिल्मलाई आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ ट्याग दिएको यो पहिलोपटक हो। अष्ट्रेलियाका दर्शकबाट प्राप्त सकरात्मक प्रतिक्रियाले अष्ट्रेलियाका बिभिन्न सहरमा फिल्मको माग बढेको छ।

अष्ट्रेलिया प्रदर्शनको अधिकार पाएको एमएसएम इन्टरटेनमेन्टका निर्देशक छत्र थापाले फिल्म महाजात्रालाई अष्ट्रेलियाका दर्शकले राम्रो माया दिएको प्रतिक्रिया दिए। उनका अनुसार न्युसाउथ वेल्समा २० शो, क्वीन्सल्याण्डमा १३ शो, भिक्टोरियामा ८ शो, तास्मानियामा ४ शो, साउथ अष्ट्रेलियामा ४ शो, एसीटीमा ४ शो, नर्थ टेरोटोरीमा २ शो र वेस्टर्न अष्ट्रेलियामा २ शो भएका छन्। दर्शकको माग अनुसार अष्ट्रेलियामा फिल्मको प्रर्दशन भइरहेको उनले बताए।

फिल्ममा फडीन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ। फिल्म युरोपका विभिन्न देशमा आयोजित शोहरूमा टिकट ‘सोल्ड’ आउट’ भएका छन् भने अमेरिका र बेलायतमा नियमित बक्सअफिसमै प्रदर्शन भइरहेको छ।

यस्तै, चैत १५ देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरु भएको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ। फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।