सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिने

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले विश्वासको मत लिने


काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

सो बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले बताए। शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्।

केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बनेका शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए। केन्द्रमा माओवादी–एमाले गठबन्धन बनेपनि सुदुरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ।

मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहेका छन्।

प्रदेशसभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ। तर नागरिक उन्मुक्तिभित्रको विवादका कारण उनले विश्वासको मत पाउने वा नपाउने भन्ने टुंगो छैन। राप्रपाले भने शाहलाई मत दिने देखिएको छ।