स्पेनको पूर्व फुटबल प्रमुख रुबियालेस भ्रष्टाचारको आरोपमा पक्राउ

स्पेनको पूर्व फुटबल प्रमुख रुबियालेस भ्रष्टाचारको आरोपमा पक्राउ


एजेन्सी ।

स्पेनको पूर्व फुटबल प्रमुख लुइस रुबियालेसलाई रोयल स्पेनिस फुटबल महासङघ (आरएफइएफ) मा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ।

डोमिनिकी गणतन्त्रबाट म्याड्रिडको बराजास विमानस्थलमा उत्रेका ४६ वर्षीय रुबियालेसलाई विमानस्थलबाटै पक्राउ गरी केही समयपछि रिहा गरिएको गार्डिया सिभिल प्रहरीका प्रवक्ताले बताए।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनलाई प्रहरीले विमानबाट ओर्लिए लगत्तै पक्राउ गरी विमानस्थलभित्र सोधपुछ गरिएको थियो। भ्रष्टाचार र अन्य अपराधको अनुसन्धानका क्रममा अनुसन्धानकर्ताहरूले आरएफइएफको म्याड्रिड मुख्यालय र दक्षिणी शहर ग्रानाडास्थित रूबियालेसको घरसहित ११ स्थानमा छापा मारेको दुई हप्तापछि उनलाई पक्राउ गरिएको हो।

न्यायिक स्रोतका अनुसार मार्च २० मा गरिएको छापा ‘व्यवसायमा भ्रष्टाचार, कपटपूर्ण प्रशासन र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुमानित अपराधसँग सम्बन्धित अनुसन्धानको एक हिस्सा’ थियो।

स्पेनी सञ्चारमाध्यमका अनुसार अनुसन्धानकर्ताहरूले सन् २०१८ देखि हस्ताक्षरित आरएफइएफ सम्झौताबारे अनुसन्धान गरिरहेका छन्, जसमा रुबियालेसले ‘स्पेनिस सुपर कप’लाई साउदी अरबमा लैजानका लागि हस्ताक्षर गरेको आरोप लागेको छ।

बार्सिलोना र स्पेनका पूर्व डिफेन्डर जेरार्ड पिकेको स्वामित्वमा रहेको कम्पनी कोस्मोसको मध्यस्थतामा सुपर कपको सम्झौता वार्षिक ४० मिलियन युरो (४३.३ मिलियन डलर) मा भएको छ ।

‘क्याडेना सेर रेडियो’का अनुसार गार्डिया सिभिल प्रहरी डोमिनिकी गणतन्त्रमा गई सोमबार रुबियाल्स बसेको परिसरमा खानतलासी गरेको थियो र अनुसन्धान अधिकारीको अनुमतिपछि एक ल्यापटप र एक मोबाइल फोन जफत गरेको थियो। एएफपीले सम्पर्क गर्दा गार्डिया सिभिलले उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

मार्च २० मा छापा मारेको एक दिनपछि आरएफइएफले यसका कानुनी निर्देशक पेड्रो गोन्जालेज सेगुरा, मानव संसाधन प्रमुख जोस जेभियर जिमेनेजलाई बर्खास्त गरेको छ र महासङ्घका बाह्य कानूनी सल्लाहकार टोमस गोन्जालेज क्युटोको कानुनी फर्म जीसी लिगलसँगको सम्झौता रद्द गरेको छ। प्रहरीले तीनै जनालाई मङ्गलबार नै पक्राउ गरेको थियो।