गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा


काठमाडौं ।

भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। अगामि जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको हो।

नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो।

गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन बनाए। नेपालका लागि सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले समान दुई÷दुई विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। कुशलले ६७ रन र आसिफले ८५ रन जोडे।