कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार छान्न सकस, आज पनि बैठक

कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार छान्न सकस, आज पनि बैठक


काठमाडौं ।

बैशाख १५ मा हुने उपनिर्वाचनका लागि एमाले, रास्वपालगायत अन्य दलले उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेका छन्। तर नेपाली कांग्रेसले भने अझैसम्म उम्मेदवारकै टुंगो लगाउन सकेको छैन।

उम्मेदवार छान्न सोमबार र मंगलबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताहरूसँग छलफल गरिरहेका छन्। तर सहमति जुटेको छैन। कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको छ।

मंगलबार उम्मेदवारको टुंगो लगाउन नसकेपछि बुधबार पनि कार्यसम्पादन समितिको बैठक बस्दैछ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले उपनिर्वाचनका लागि उम्मेदवारी दिने र त्यही विषयमा छलफल भइरहेको बताए।

‘सिफारिस भएर आएका नामहरूमाथि छलफल भयो। विभिन्न चरणमा सबै नामहरूमाथि छलफल गरेपछि अब टुंग्याउने चरणमा पुगेको छ,’ उनले भने, ‘आज बस्ने बैठकले टुंगो लगाउँछ।’

बुधबार पनि दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवाको निवासमा बैठक बस्दैछ। मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ मा डम्बरबहादुर खड्का र बझाङको प्रदेशसभा–१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। तर त्यसमा नेता शेखर कोइराला पक्षले असहमति जनाएको छ।

देउवाको प्रस्तावमा नेता कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि मंगलबार उम्मेदवारको टुंगो लाग्न नसकेको हो। कोइराला पक्षले इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ।