कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो।

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने भएका छन्।

‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ। सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो,’ मंगलबारको बैठक सुनाउँदै प्रमुख सचेतक परियारले भने।

केन्द्रमा कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नै मुख्यमन्त्री शर्मालाई राजीनामा दिन दबाब दिएका थिए। तर उनले विश्वासको मत लिएर मात्रै कुर्सी छोड्ने अडान लिए।

उनको अडानपछि एमालेले पनि उनलाई विश्वासको मत दिने र त्यसपछि मुख्यमन्त्रीबाट शर्माले राजीनामा गर्ने शर्तमा तयार भएको हो।