टि-ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित

टि-ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित


काठमाडौँ ।

नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ। जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १० रनमा समेटियो।

तीन खेलको टि–ट्वान्टी शृङ्खलाको उपाधि भने आयरल्यान्ड ‘ए’ले एक खेल अगावै जितेको थियो। नेपाल ‘ए’ यसअघि खेलेका दुवै खेलमा पराजित भएको थियो। आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।

आजको खेलमा आयरल्यान्डका लागि ग्यारेथ डेलानी र मोर्गन टोप्पिङले अर्धशतकीय पारी खेले। डोलानीले ३७ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए। त्यस्तै टोप्पिङले ३७ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए। त्यस्तै रोस्स अदिरले ३१ रन बनाउदाँ फिन ह्यान्डले २२ रन जोडे।

बलिङतर्फ नेपालका विपिन खत्रीले तीन विकेट लिए भने कमल ऐरी, नारायण जोशी र रासिद खानले समान एक रएक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १३ रनको योगफल बनाएको थियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए। उनले ४८ बल खेल्दै सात चौका र छ छक्का प्रहार गरे। त्यसैगरी रासिद खानले २४ रन बनाउँदा पवन सर्राफले १३ रन जोडे। बसिर अहमदले १९ रन बनाए भने कप्तान विनोद भण्डारी ११ रनमा आउट भए। त्यस्तै लोकेश बमले आठ रन जोड्दा देव खनाल छ रनमा आउट भए।

बलिङतर्फ आयरल्यान्ड ‘ए’का लागि फिन ह्यान्डले दुई विकेट लिए भने लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान एक÷एक विकेट लिए। अब नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ले तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन्। सो शृङ्खला यही चैत २१ गतेदेखि सुरु हुनेछ।