आरिफको उत्कृष्ट प्रर्दशनमा आयरल्यान्ड वुल्भ्ससलाई नेपालले दियो २ सय १४ रनको लक्ष्य

आरिफको उत्कृष्ट प्रर्दशनमा आयरल्यान्ड वुल्भ्ससलाई नेपालले दियो २ सय १४ रनको लक्ष्य


काठमाडौं ।

त्रिवीमा जारी अन्तिम टी–ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सससामु २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरको खेल सकिँदा आरिफ सेखको उत्कृष्ट व्याटिङमा २ सय १३ रनको योगफल तयार गरेको हो।

नेपालका लागि उत्कृष्ट पारि खेलेका आरिफले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गर्दै अविजित ९३ रनको पारि खेले। नवौँ नम्बरमा ब्याटिङमा लागि मैदान आएका कमलसिंह ऐरीले अविजित सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे। आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए।

यसबाहेक, पवन सर्राफले १३, राशिद खानले २४, र कप्तान विनोद भण्डारीले ११ रन जोडेका थिए। आयरल्यान्डका फियोन ह्यान्डले सर्वाधिक दुई विकेट दिँदा गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक -एक विकेट लिए।

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ ।