सुपरहिट फिल्म ‘महाजात्रा’ होबार्टमा दोस्रो पटक प्रदर्शन हुँदै

सुपरहिट फिल्म ‘महाजात्रा’ होबार्टमा दोस्रो पटक प्रदर्शन हुँदै


तास्मानिया अष्ट्रेलिया । दर्शकहरुले निकै नै मन पराएका नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ। षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज सिने हल ग्लोनोर्किमा दोस्रो पटक प्रर्दशन हुन लागेको हो।

दर्शकको माग अनुसार तास्मानियाको होबार्टमा चलचित्र ‘महाजात्रा’ दोस्रो पटक प्रदर्शन गर्न लागिएको एमएसएम इन्टरटेनमेन्टका निर्देशक छत्र थापाले केबीसी खबरलाई जानकारी दिए। उनले दोस्रो पटकको शो को टिकट सिमित भएकाले समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गर्न होबार्टबासी नेपाली चलचित्रलाई माया गर्ने सबैलाई आग्रह गरेका छन्।

अष्ट्रेलिया प्रदर्शनको अधिकार पाएको एमएसएम इन्टरटेनमेन्ट र रोटे पिङले पाएको छ। अष्ट्रेलियाको सिड्नी, क्वीन्सल्याण्ड, मेलबर्न, तास्मानिया, क्यानबेरा र एडिलेडलगायतका सहरमा महाजात्रा प्रर्दशन भएको छ।

फिल्म ‘महाजात्रा’ लाई देशकै ठूलो चेन क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ घोषणा गरेको छ। क्युएफएक्सले कुनै पनि नेपाली फिल्मलाई आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ ट्याग दिएको यो पहिलो पटक हो।

क्युएफएक्सका अनुसार देशभरका आफ्ना हलमा पहिलो हप्ता उक्त फिल्मले गरेको व्यापारका आधारमा यो घोषणा गरिएको हो। दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन्। उल्लेख्य संख्यामा दर्शकले यो फिल्म हेरिरहेका छन्।

गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडीन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ। फिल्मले नेपालमा मात्र नभई विदेशमा पनि नेपाल झैँ भव्यताका साथ व्यापार गरिरहेको छ।

पहिलो साता अष्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शोहरूमा टिकट ‘सोल्ड’ आउट’ भएका छन् भने अमेरिका र बेलायतमा नियमित बक्सअफिसमै प्रदर्शन भइरहेको छ।

यस्तै, चैत १५ देखि मध्यपूर्वका देशहरूमा समेत ‘महाजात्रा’ को प्रदर्शनको सुरु भएको छ। तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्मलाई पहिलो सातामा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन्।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ। फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन्।