ब्राइटनविरुद्ध २–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

ब्राइटनविरुद्ध २–१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको आर्सनल २८ खेलबाट ६४ अंकका साथ दोस्रो स्थानमा रहेको छ। आइतबार लिभरपुलसँग पराजित भएको ब्राइटन भने ४२ अंकका साथ तालिकाको नवौं स्थानमा छ।

ब्राइटनले लिभरपुलविरुद्ध सुरुआती अग्रता लिए पनि जोगाउन असफल भएको थियो। डेनी वेलबेकले गोल गर्दै खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए। २७ औं मिनेटमा लुईस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिभरपुलले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो। लिभरपुलका लागि मोहमद सलाहले ६५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए। सलाहले एलेक्सिस एलिस्टरको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल नभएपछि लिभरपुल अन्ततः २–१ को जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो।