आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित

आयरल्यान्ड उल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित


काठमाडौँ ।

घरेलु टोली नेपाल ‘ए’ ले आयरल्यान्ड उल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा पराजय भोगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको हो।

२ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय १ रन बनायो। नेपाल ‘ए’ का लागि लोकेश बमले ५६ बलमा ९ चौका र ८ छक्काको मदतमा १ सय ६ रन जोडे पनि जितका लागि पर्याप्त भएन। आरिफ शेखले ४९ रनको योगदान गरे।

आयरल्यान्ड उल्भ्सका लागि म्याथ्यु हमफ्रिसले ३, फियोन ह्यानले ३, म्याथ्यु फोस्टरले २ तथा थोमस मयस र गाभिन होएले १-१ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको हो।

आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले ४९, केड कार्मीकायलले ३८ तथा स्टेफेन डोहेनीले ३४ रन बनाए। कप्तान निल रकले ३८ रन तथा गारेथ डिलानीले ३० रनको योगदान गरे।

नेपाल ‘ए’ का लागि कमल ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले १-१ विकेट हात पारे। यी दुई टोलीबीचको दोस्रो खेल शनिबार तथा तेस्रो खेल सोमबार हुने तालिका रहेको छ।