नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सले आज टी–२० शृंखलाको पहिलो खेल खेल्ने

नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सले आज टी–२० शृंखलाको पहिलो खेल खेल्ने


काठमाडौं ।

घरेलु मैदानमा हुने तीन खेलको टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ। यसअघि बिहीबार शुरु हुने तालिका रहेको सिरिज वर्षाको कारण टस नै नगरी रद्द भएको थियो।

आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’सँग तीन टी–२० र तीन ओडी खेल खेल्ने तालिका छ। सिरिजको पहिलो खेल वर्षाको कारण बिहीबार रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार आज नेपाल र उल्भ्सले पहिलो खेल्दैछन्। शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्।

यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ।

उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे शुरु हुनेछ। ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्।