अव्यवस्थित राजनीतिका कारण खेलाडीहरूको पुरस्कार राशि दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरूको पुरस्कार राशि दिन सकिएन : मन्त्री श्रेष्ठ


काठमाडौं ।

आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्न भारत जाँदैछ। भारत जाने नेपाली राष्ट्रिय टोलीलाई क्यानले शुभकामना सहित आज विदाई गरेको छ।

उक्त श्रृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदै छ। नेपाली टोलीलाई भारतमा हुने त्रिकोणात्मक श्रृङ्खलाले थप अनुभव बटुल्ने मौका प्रदान गर्नेछ।

क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले क्रिकेट टोलीलाई शुभकामना दिँदै रोकिएका पुरस्कार रासीको प्रक्रियालाई अगाडि बढाउने बताए। मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्थताका कारण खेलाडीहरुलाई पुरस्कार बापतको रकम उपलब्ध गराउन असहज भएको बताए।

उनले भने, ‘सबैलाई शुभकामना दिन चाहन्छु र पुरस्कार रासीका कुराहरु छन् सबै खेल क्षेत्रमा नै यो समस्या छ। हिजो भर्खरै हामीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो। यो सबै राजनीतिक क्षेत्र अव्यवस्थित हुँदा भईरहेको कुराहरु हो।’

यस्तै, उनले खेलको परम्परागतशैलीलाई नीतिगत रुपमै सुधार गरेर नयाँ तरिकाबाट हेर्न आवश्यक भएको भन्दै सुधारको लागि आफू प्रयासरत रहेको बताए।

क्यानका महासचिव पारस खड्काले पनि नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज एकदमै महत्वपूर्ण भएको भन्दै उनले खेलाडीहरुलाई राम्रो प्रर्दशनका लागि आग्रह गरेका छन्।

उनले भने, ‘नेपाल क्रिकेट विश्व कपको तयारीमा रहेको अवस्थामा गुजरातको सिरिज हाम्रो लागि एकदमै महत्वपूर्ण छ। इन्डियाको रणजी लेबलको टिमहरुसँग खेल्ने हामीले अवसर पाएका छौं। विश्वकप जुनमा हुने भएको हुनाले यो दुई तीन महिना नेपाली क्रिकेटको लागि एकदमै महत्वपूर्ण छ। खेलाडीहरुलाई प्रेसर पनि छ किनभने देशको प्रतिनिधित्व गर्ने इच्छा धेरैको हुन्छ तर, त्यो मौका अहिलेका १५ जना छानिएका खेलाडीले पाएको छ। त्यसकारण यसको तयारी एकदमै राम्रो गर्नु हुन आग्रह गर्न चाहन्छु।’

क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेल क्रिकेटको खेलको लागि टिम एकदमै तयार रहेको भन्दै आफ्नो तर्फबाट तयारी पूरा भएको बताए। उनले भने, ‘क्रिकेटको तयारीको कुरा गर्दा हामी एकदमै तयार छौ। हाम्रो या सिरिज पनि हाम्रो लागि एकदमै ठूलो तयारी हो। हामीले यो अवसरलाई महत्व दिएर खेल्ने छौ।’

तर उनले खेलाडीहरुलाई सरकारले तोकेको पुरस्कार रकम नदिएकोप्रति गुनासो गरे। ‘सरकारले हामीलाई तोकेको पुरस्कार रकम पनि प्राप्त हुन सकेको छैन्,’पौडेलले भने। विश्वकपमा जानु हाम्रो लागि सबैभन्दा ठूलो प्रगती भएको कोच मन्टि देसाईको भनाई छ।

उनले गुजरातमा हुने खेलको लागि निकै उत्साहित भएको भन्दै राष्ट्रलाई गर्व महशुस गराउने हिसाबमा खेल्न पनि सबै खेलाडीहरुलाई आग्रह गरेका छन्।
यो श्रृङ्खलामा नेपालले भारतको गुजरात र बरोडाको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। भारत भ्रमणका क्रममा नेपाली टोलीले आफ्नो पहिलो खेल मार्च ३१ गुजरातसँग खेल्नेछ। अप्रिल १ मा गुजरात र बरोडाबीच खेल हुनेछ।

यसैगरी अप्रिल २ मा नेपालले बरोडाको सामना गर्नेछ। अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ। अप्रिल ४ मा गुजरातले बरोडाको सामना गर्नेछ। अप्रिल ५ मा नेपाल र बरोडाबीच लिग चरणको अन्तिम खेल हुनेछ। त्यसपछि अप्रिल ७ तारिखमा श्रृंखलाको फाइनल खेल खेलिने छ।