बीजेपीले कंगनालाई लोकसभाको टिकट दिएपछि राजनीतिमा आउने साराको संकेत

बीजेपीले कंगनालाई लोकसभाको टिकट दिएपछि राजनीतिमा आउने साराको संकेत


मुम्बई ।

बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन्। यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन्। उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट टिकट दिइसकेको छ। यही बेला अर्की अभिनेत्री सारा अली खानले पनि राजनीतिमा आउने कुराको संकेत दिएकी छन्।

हालैको एक अन्तरवार्तामा उनले राजनीतिमा आउने कुरालाई नकार्न नसकेको कुरा बताएकी छन्। उनलाई ‘के उनी भविष्यमा राजनीतिमा आबद्ध हुन्छिन् ?’भनी नेटफ्लिक्स इण्डियाले सोधेको प्रश्नमा उनले सकारात्मक जवाफ दिएकी छन्।

‘हो म भविष्यमा राजनीतिमा पाइला चाल्नका लागि सोच्न सक्छु,’उनले भनेकी छन्। साराले राजनीतिमा आउने चाहना राखेको यो पहिलोपटक होइन। उनले सन् २०१९ मा एक अन्तरवार्तामा पनि भविष्यमा राजनीतिको चासो बारे आफ्ना धारणा सार्वजनिक गरेकी थिइन्।

‘मसँग इतिहास र राजनीति शास्त्रको डिग्री छ। त्यसकारण म जुनसुकै समयमा राजनीतिमा प्रवेश गर्न सक्छु। यो मेरा लागि ब्याकअप विकल्प हुने छैन। उद्योगमा जबसम्म काममा सक्रिय हुन्छु, त्यही समयसम्म अभिनय नै रहन्छ। तर समय आउनासाथ राजनीतिलाई पनि साथमै लानेछु’, उनले भनेकी छन्।

हालैमात्र सारा अभिनित ‘मर्डर मुबारक’ र ‘ऐ मेरे वतन के लोगो’ ओटीटीमा रिलिज भएको थियो। फ्यानले उनको अभिनयलाई निकै मन पराए। फिल्म ‘ऐ वतन मेरे वतन’मा स्वतन्त्रता सेनानी उषा मेहताको भूमिका निभाएकी थिइन्।

उनी यतिबेला अनुराग बासुको फिल्म ‘मेट्रो’मा काम गरिरहेकी छन्। फिल्म सेप्टेम्बर १३ मा रिलिज हुनेछ। यसबाहेक उनी जगन शक्तिको फिल्ममा पनि काम गर्दैछिन्।