केन्याका स्टार अलराउन्डर ओबुयाले लिए सन्यास

केन्याका स्टार अलराउन्डर ओबुयाले लिए सन्यास


काठमाडौं ।

आईसीसी पुरुष क्रिकेट विश्वकप २००३ मा केन्याका लागि महत्वपूर्ण भूमिका खेलेका अलराउन्डर कोलिन्स ओबुयाले सक्रिय खेल जीवनबाट सन्यास लिएका छन्।

उनले आफ्नो २३ वर्षको क्रिकेट करिअरलाई पूर्णविराम दिएको घोषणा गरेका हुन्। सन् २००१ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ओबुयाले अफ्रिकी खेलकुदको तेस्रो स्थानको प्लेअफमा युगान्डासँग १०६ रनले पराजित भएपछि सन्यास लिएका थिए।

४२ वर्षीय ओबुयाले केन्याले खेलेको पाँच इनिङ्समा १८४ रन बनाएर प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। ‘मैले खेलबाट सन्यास लिने निर्णय गरेको छु। केन्याका लागि खेल्न पाउनु ठूलो सम्मान हो,’ ओबुयालाई उद्धृत गर्दै आईसीसीले जनाएको छ, ‘म मेरा सबै साथीहरू र मेरो परिवारलाई धन्यवाद दिन चाहन्छु जो सधैं मेरा लागि त्यहाँ छन्। यो मेरो लागि उत्कृष्ट करिअर हो, यो धेरै लामो समयसम्म खेल्न पाउनु धेरै विशेष छ। म आफ्नो करिअरमा धेरै गर्व गर्छु, तर अब मेरो लागि कोचिङमा ध्यान केन्द्रित गर्ने र क्रिकेटको लागि जे पनि गर्न सक्छु र गर्ने समय आएको छ।’

उनले एक दिवसीय करिअरमा २०४४ रन बनाएका छन्। केन्याको ओडीआइ स्टाटस खोसिनुअघि २००० हजारभन्दा बढी रन बनाउने चारमध्ये एक हुन्। उनले टी २० मा १७९४ रन बनाएका छन्। केन्याका लागि सर्वाधिक रन बनाउने उनै खेलाडी हुन्। यसैगरी उनको नाउँमा ६० अन्तर्राष्ट्रिय विकेट समेत रहेको छ। लेग स्पिनिङ अलराउन्डरको उत्कृष्ट ओडीआइ इनिङ्स सन् २०११ को विश्वकपमा अस्ट्रेलियाविरुद्धको अविजित ९८ रनको थियो, जुन दुर्भाग्यवश हारमा समाप्त भयो।

केन्याको २०११ को विश्वकप अभियानपछि ओबुयालाई जिमी कोमान्डेको ठाउँमा टोलीको कप्तान नियुक्त गरिएको थियो। टोलीले आईसीसी पुरुष टी–२० विश्वकप २०१४ मा छनोट हुन नसकेपछि उनले २०१३ मा राजीनामा दिएका थिए। सन् २००३ को विश्वकप क्रिकेटमा केन्याले बलियो श्रीलंकालाई पराजित गर्दै सनसनी मच्चाएको थियो। त्यतिबेला उनले २४ रन खर्चिएर महत्वपूर्ण विकेट लिएका थिए। उनको बलमा अरबिन्द डी सिल्भा, कुमार सांगकारा र महेला जयबर्धने जस्ता स्टार खेलाडीको विकेट लिएका थिए। सोही जितका कारण केन्याले सुपर सिक्स र सेमिफाइनलसम्म पुग्न भूमिका खेल्यो । विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने केन्या एक मात्र गैर टेस्ट नेसन्स बनेको थियो।

केन्याले सन् १९९६ मा पाएको एक दिवसीय मान्यता सन् २०१४ मा गुमाएको थियो । त्यसपछि एसोसिएट राष्ट्रको रुपमा केन्याले लगातार क्रिकेट खेल्दै आएको छ ।