मेलबर्नमा भोली फिल्म ‘महाजात्रा’ को प्रदर्शन

मेलबर्नमा भोली फिल्म ‘महाजात्रा’ को प्रदर्शन


मेलबर्न अष्ट्रेलिया ।

शुक्रबार नेपालसहित विश्वव्यापी रुपमा एकसाथ रिलिज भएको यो फिल्म महाजात्रा मेलबर्नमा भोलि प्रर्दशन गरिने भएको छ। षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ मेलबर्नको चाइना टाउन सिनेमा घरमा भोली लाग्ने भएको हो।

अष्ट्रेलिया अधिकार पाएको एमएसएम इन्टरटेनमेन्ट र रोटे पिङले अष्ट्रेलियएका विभिन्न सहरमा फिल्म महाजात्रालाई प्रर्दशनमा ल्याएका छन्। अष्ट्रेलियाको सिड्नी, क्वीन्सल्याण्ड, तास्मानिया, क्यानबेरा र एडिलेडमा हिजो २२ मार्च फिल्म प्रर्दशन गरिएको एमएसएम इन्टरटेनमेन्टका निर्देशक छत्र थापाले केबीसी खबरलाई जानकारी दिए। उनले अष्ट्रेलियाका बाँकी सहरमा पनि महाजात्रालाई क्रमिकरुपमा प्रर्दशन गरिने बताए।

महाजात्राको मेलबर्न ‘शो’ को टिकट सिमित रहेकाले समयमै टिकट खरिद गरि आफ्नो सिट सुरक्षित राख्न निर्देशक थापाले आग्रह गरेका छन्। अष्ट्रेलियामा फिल्म हेरेपछि दर्शकले राम्रो प्रतिक्रिया दिएको उनले बताए।

शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत नेपालका हलमा पुगेका थिए।

अभिनेता हरिवंशले दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको भन्दै शनिवार पनि दर्शकसँग भेट्ने जानकारी दिए। निर्देशक भट्टराईले पहिलोदिन नेपालमात्र नभई विदेशमा पनि हाउसफुल भइरहेकोले यसलाई दर्शकले आफूप्रति दिएको विश्वासका रुपमा लिएको बताए। कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले काठमाडौँ मात्र नभई मोफसलका दर्शकसँग भेटघाट गर्न चाँडै मोफसल पुग्ने जनाए।

अभिनेता विपिन कार्कीले दर्शकले फिल्मका पात्रको सुखदुःखलाई पर्दा बाहिर पनि महसुश गरेको बताए। आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्।