आईपिएलमा चेन्नाईको विजयी सुरुवात, आज दुई खेल हुँदै

आईपिएलमा चेन्नाईको विजयी सुरुवात, आज दुई खेल हुँदै


काठमाडौं ।

टी–२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित निनकाल्दै चेन्नाईले विजयी सुरुवात गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो। बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नाईले १८ दशमलव ४ बलमा मात्र चार विकेट गुमाएर भेट्टायो।

चेन्नाईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए। अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए। चेन्नाईका शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १–१ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए।

अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे। चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए। महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नाई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो। बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानीमा छ।

त्यस्तै, आईपिएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन्। यो खेल दिउँसो नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ। दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ८ बजे सुरु हुनेछ।