कपिलविरुद्धको उजुरी अदालतद्वारा खारेज

कपिलविरुद्धको उजुरी अदालतद्वारा खारेज


मुम्बई ।

भारतीय प्रख्यात कमेडियन कपिल शर्मा आफ्नो शोसँगै विवादका कारण पनि चर्चामा आउँछन्। उनी अहिले नयाँ शोको रिलिजको तयारीमा छन्। जुन शो नेटफ्लिक्समा रिलिज हुँदैछ। यहीबीचमा कपिलविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ।

दुई वर्षअघि ‘द कपिल शर्मा शो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो। जहाँ करिब ८ मिनेटसम्म अदालतको कार्वाही देखाइएको थियो। जहाँ कपिल शर्मा र उनका साथीहरुले अदालतको कोठामा हुने कानूनी कार्वाहीका बारेमा अभिनय गरेका थिए। यो एपिसोडमा कपिल वकिलको भूमिकामा थिए । उनले दोहोरो अर्थ लाग्ने शब्दको प्रयोग गर्दै मदिरा मागेका थिए।

यो एपिसोड हेरेका ग्वालियरका मजिष्ट्रेट कोर्ट र सेशन कोर्टका अधिवक्ता सुरेश धाकडाले शोका निर्मातासँगै शोका होस्ट कपिल शर्माविरुद्ध मुद्धा दर्ताको माग गर्दै उजुरी दिएका थिए। उजुरीमा शोको माध्यमबाट अदालतको छविलाई धमिल्याउने प्रयास गरिएको उल्लेख थियो।

उजुरीमा कपिलको शोमा दोहोरो अर्थ लाग्ने संवाद धेरै प्रयोग गरिने र महिलामाथि भद्दा प्रतिक्रिया दिइने आरोप थियो। उजुरीमा अदालतमा मदिरा पिएको देखाइएपछि त्यसले अदालतको अपमान गरेको र यही तर्कका आधारमा कपिलविरुद्ध धारा ३५६-३ का अनुसार एफआईआर दर्ताको माग गरिएको थियो।

यही मामलामा हाई कोर्टको ग्वालियर खण्डपिठले कपिललाई राहत दिएको छ। अदालतले उजुरीलाई सुनेर आफ्नो प्रतिक्रिया दिएको छ। अदालतका अधिवक्त सुरेशलाई पनि पब्लिसिटी स्टण्टका लागि प्रहरीको काँधको उपयोग नगर्न सचेत गराएको छ।