‘भिसा फ्याक्ट्री’ जस्ता कलेजहरुलाई कस्दै अष्ट्रेलिया !

‘भिसा फ्याक्ट्री’ जस्ता कलेजहरुलाई कस्दै अष्ट्रेलिया !

अन्य भिसाबाट विद्यार्थी भिसामा परिवर्तन गर्ने कार्य रोक्न कडाई गरिने



मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाका गृहमन्त्री क्लेर ओनीलले शुक्रबारबाट भिसाको खेती गर्नेहरुलाई कडाईपूर्वक कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उनले भिसा फ्याक्ट्रीको रुपमा सञ्चालन भइरहेका कलेजहरुलाई तत्काल चेतावनी दिइने । ६ महिनाभित्र उनीहरुले गरेको गलत कार्यहरु सच्याइने अन्यथा त्यस्ता कलेजहरुलाई बन्द गराइने बताएका हुन् ।

उनले अबदेखि पर्यटक भिसामा आउनेहरुलाई नो फर्दर स्टे अर्थात् त्यसबाट विद्यार्थी लगायतका अन्य भिसामा जाने प्रक्रिया समेत रोक्ने बताएका छन् । विद्यार्थीका रुपमा अष्ट्रेलिया आउनका लागि आफ्नै देशबाट विद्यार्थीकै रुपमा आउनुपर्ने उनको भनाई छ । उनले विज्ञप्तिमा भनेका छन्, नयाँ आधिकारिक विद्यार्थी परीक्षा लागू हुनेछ । यसमा विद्यार्थीले पढाईभन्दा पनि यहाँ आएर काम गर्ने मात्रै नियत राख्ने कार्यलाई कडाईका साथ रोकथाम गरिनेछ ।

यस्तै अंग्रेजी भाषाको प्रावधानमा पनि परिवर्तन गर्दै अबदेखि ५.५ बा बढाएर ६ र ग्राजुयट भिसाको लागि ६ बाट बढाएर ६.५ बनाइने पनि उल्लेख छ । यो संख्या आईईएलटीएस हो ।

यसअघिको सरकारले ल्याएको महामारी राहत भिसा रोक्का गरिने । यसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई दिइँदै आएको काम गर्ने समयको बढोत्तरी रोक्का गरिने भएको छ ।

उनले विज्ञप्तिमा भनेका छन् गएको सेप्टेम्बरदेखि सरकारले भिसा प्रक्रियामा देखिएका बदमासीहरुलाई रोक्न कडाई गरेयता सोही अवधिको अघिल्लो वर्षकोभन्दा ३५ प्रतिशतले भिसाको दरमा कमी आएको छ । हामीले यो सप्ताहन्तबाट लागू गरेको नयाँ प्रावधानहरुले अघिल्ला सरकारबाट विरासतमा पाएको विकृतिपूर्ण भिसा प्रणालीलाई हामी सच्याउन सफल हुनेछौं ।