कलाकार र पहिरन फाइनल नहुँदा ‘रामायण’ अनिश्चित

कलाकार र पहिरन फाइनल नहुँदा ‘रामायण’ अनिश्चित


मुम्बई । निर्देशक नितेश तिवारीको मेगा बजेट फिल्म ‘रामायण’लाई लिएर दैनिक रुपमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका छन्। कलाकार, फिल्मको भागदेखि लिएर कथासम्मका खबर आइरहेका छन्। तर यो फिल्म कहिलेसम्म तयार हुने भन्ने निश्चित भइसकेको छैन।

फिल्म निर्माण स्रोतका अनुसार यो वर्षमा यो फिल्म नबन्ने करिब निश्चित छ। फिल्मका लागि अभिनेता रणवीर कपूर र अभिनेत्री साई पल्लवीमात्र अनुबन्धित भएका छन्। उनीहरुबाहेक अन्य कलाकार छनोट भइसकेका छैनन्।

केही समयअघि नितेशले फिल्म ‘रामायण’ आगामी अप्रिल १७ मा पर्ने रामनवमीमा आधिकारिक रुपमा घोषणा गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो। तर अहिले भने निर्माण पक्षमा नै यो फिल्मको घोषणा मितिबारे निश्चित नभइसकेको खुल्न आएको छ।

फिल्मका लागि निर्माण गरिएको पहिरन पनि निर्देशक तिवारीका लागि चित्तबुझ्दो बन्न सकेको छैन। यसबाहेक फिल्मको कथाका लागि थप अध्ययन पनि चलिरहेको छ। त्यसकारण यही वर्ष फिल्म निर्माण हुने सम्भावना अत्यन्त न्यून छ।