२३ वर्षपछि ‘नायक २’

२३ वर्षपछि ‘नायक २’


मुम्बई ।

अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ। फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ। फिल्मको पर्दामा मात्र होइन, टेलिभिजनमा पनि यो फिल्म सर्वाधिक हेरिएको छ।

अब भने यो फिल्म निर्माणको २३ वर्षपछि सिक्वेल ‘नायक २’ बन्ने भएको छ। सिद्धार्थ आनन्दले निर्माण गर्ने फिल्मको निर्देशन मिलन लुथ्रियाले गर्नेछन्।

उनीहरुले मार्फिक्लस पिक्चरको व्यानरमा यो फिल्म बनाउन लागेका हुन्। उनीहरुको पछिल्लो फिल्म ‘फाइटर’ले विश्वव्यापी रुपमा ३ सय ५० करोडको कलेक्सन गरेको थियो। ‘नायक २’लाई राजनीतिको पृष्ठभूमिमा व्यावसायिक मसलेदार फिल्म बनाउने तयारीमा सिद्धार्थ र मिलन लागेका छन्।

मिलनले पछिल्लो पटक फिल्म ‘तडप’ निर्माण गरेका थिए। जसमा अहान सेट्टी र तारा सुतरियाको अभिनय थियो। ‘नायक २’का लागि उनीहरुले एक प्लट तयार पारिसकेका छन्। मिलन र रजत अरोराले फिल्मको स्क्रिप्ट लेखेका छन्। यो जोडीले ‘वान्स अपन ए टाइम इन मुम्बई’ र ‘द डर्टी पिक्चर’ लेखेका थिए। उनीहरु दमदार पटकथा र संवाद लेख्न बलिउडमा परिचित छन्।

‘नायक २’लाई उनीहरु एक्सनपूर्ण फिल्म बनाउने तयारीमा छन्। फिल्ममा उनीहरुले इमोसनलाई पनि स्थान दिनेछन्। फिल्मका लागि ‘ए’ सूचीकृत अभिनेता लिने तयारीमा छन्। फिल्म सन् २०२४ को मध्यतिर फ्लोरमा जानेछ।