मह जोडीलाई आदर्श नागरिक सम्मान

मह जोडीलाई आदर्श नागरिक सम्मान


झापा ।

झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ। प्रतिष्ठानले बिर्तामोडमा बुधबार एक समारोहको आयोजना गर्दै मह जोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो।

प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको सचिव लक्ष्मण ढकालले जानकारी दिए। महजोडीलाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित सम्मान प्रदान गरिएको हो। भारतको दार्जिलिङका प्रख्यात नाटककार सीके श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो।

पुरस्कृत प्रतिभा हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफूबीचको मित्रताको लोगो मरणोपरान्त सम्झन लायक बनाउने उद्घोष गरे। उनले आफू आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएको टिप्पणी गरे।

मदनकृष्ण श्रेष्ठसँगको ४४ वर्षको सहयात्राले आफूलाई यो स्थानमा पुर्याएको भन्दै उनले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस गरेको बताए। अर्का प्रतिभा मदनकृष्ण श्रेष्ठले हरिवंश आचार्य उनले अहिलेसम्म पाएकोमध्ये सबैभन्दा ठूलो पुरस्कार रहेको बताए। उनले आदर्श नागरिक सम्मानका रुपमा आफूलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि सीके श्रेष्ठले भाषा, कला, साहित्यलाई देशको सीमाले छेक्न नसक्ने बताए। उनले ३२ वर्षअघि सिक्किममा मह जोडीलाई सम्मान गर्ने अवसर पाएको स्मरण गर्दै यो पटक त्यही अवसर दोहोरिएको बताए। श्रेष्ठले मह जोडी कलाकार वा व्यक्तिमात्र नभएर प्रतिष्ठान भएको बताए।

नेपाल कमजोर भयो भने अरु देशमा रहेका नेपालीभाषीले पनि दुःख पाउने उल्लेख उनले गरे। ‘नेपाल जरा हो, हामी त फल र फूल मात्र हौं,’उनले भने, ‘जरा नै दूषित भयो भने फल र फूलको अवस्था ठिक हुँदैन, त्यसकारण जरा सधैं सही हुनु पर्छ।’ नेपालले प्रगति गर्दा अरु देशमा रहेका नेपालीभाषीले गौरव गर्ने गरेको उनको भनाइ थियो।