लगातार तेस्रो पटक गोर्खा लिजेन्ड्सले जित्यो टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधि

लगातार तेस्रो पटक गोर्खा लिजेन्ड्सले जित्यो टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधि


तास्मानिया, अष्ट्रेलिया ।

लगातार तेस्रो पटक गोर्खा लिजेन्ड्सले टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधि जितेको छ। आज क्लोक ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा क्यापिटल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दै गोर्खा लिजेन्ड्सले लगातार तेस्रो पटक उपाधि कब्जा गरेको हो। 

टस जितेर ब्याटिङ गरेको क्यापिटल क्रिकेट क्लबले १९.२ ओभरमा अलआउट हुँदै गोर्खा लिजेन्ड्ससामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। गोर्खा लिजेन्ड्सले ६ दशमलव २ बल फालेर बिना विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्यो।

तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधि जितेको गोर्खा लिजेन्ड्सले दुई हजार अष्ट्रेलियन डलरसहित ट्रफी तथा उपविजेता क्यापिटल क्रिकेट क्लबले एक हजार र ट्रफी प्राप्त गरेका छन्।

प्रतियोगितामा वेस्ट प्लेयर अफ द सिरिज र वेस्ट ब्याट्सम्यान गोर्खा लिजेन्ड्सका सर्वण कुमार, वेस्ट बलर क्यापिटल क्रिकेट क्लबका अतिफ मञ्जुर र वेस्ट फिल्डरको उपाधि गोर्खा लिजेन्ड्सका सन्दीप अधिकारीले पाए। 

यस्तै आजै तास्मानियामा रहेका नेपाली सामाजिक संघ–संस्था र व्यवसायीक संस्थाबीचको च्यारिटी खेल भएको थियो। च्यारीटी खेलमा सामाजिक संघ–संस्थाहरुको टिमले व्यवसायीक संस्थाको टिमलाई पराजित गरेको थियो। 

प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण समारोहमा लेबर पार्टीका जस वीली, जोन कमरा र नेपाली संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको टिएनसीएका अध्यक्ष कमल भण्डारीले जानकारी दिए। टिएनसीएले आयोजना गरेको यो प्रतियोगितालाई सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सामाजिक संघ–संस्था, स्पोन्सर, काउन्सिल, स्यंम सेवक, तास्मानियामा रहेका नेपाली क्रिकेट टिम र व्यक्तिगत रूपमा सहयोग गर्ने सबैलाई अध्यक्ष भण्डारीले धन्यवाद दिएका छन्। उनले आगामी दिनमा पनि यत्तिकै साथ सहयोगको अपेक्षा पनि गरेको बताएका छन्। 

प्रतियोगिताको अफिसियल कमेन्टटर निरञ्जन भण्डारी रहेका थिए।

टि–२० फर्मेटमा खेलाइने प्रतियोगितामा तास्मानियामा रहेका ७ नेपाली टिम सहभागी भएका थिए। जसमा गोर्खा लिजेन्ड्स, लान्सेस्टन नेपाली क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, काठमाडौँ वारियर्स, यती क्रिकेट क्लब, मुनलाइट राइनोज क्रिकेट क्लब र क्यापिटल क्रिकेट क्लब रहेका छन्। मार्च २ तारिख शनिवारबाट प्रतियोगिता सुरु भएको थियो।

तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको टाइटल स्पोन्सर ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन रहेको छ। ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसनले टिएनसिए टि–२० च्याम्पियनसिप प्रतियोगितालाई विगत तीन वर्षदेखि सहयोग गर्दै आएको छ। ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै देश विदेशमा राम्रो पहिचान बनाएको छ। ग्रेस इन्टरनेशनलले नेपाल लगायत विश्वका ७ देशका २७ शाखाबाट सेवा दिँदै आएको छ।

टिएनसिएले तास्मानियमा विभिन्न क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। खेलको माध्यमबाट टिएनसिएले यहाँका नेपाली संघ–संस्थासँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको छ।