तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधिका लागि गोर्खा लिजेन्ड्स र क्यापिटल क्रिकेट क्लब भिड्दै

तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधिका लागि गोर्खा लिजेन्ड्स र क्यापिटल क्रिकेट क्लब भिड्दै


तास्मानिया, अष्ट्रेलिया । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए) ले आयोजना गरेको तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिप २०२४ को उपाधिका लागि गोर्खा लिजेन्ड्स र क्यापिटल क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। भोलि आइतबार दिउँसो  २ बजे क्लोक ओभल क्रिकेट मैदान हुने फाइनल खेलमा गोर्खा लिजेन्ड्स र क्यापिटल क्रिकेट क्लबले भेट पक्का गरेका हुन्। 

आज भएको सेमिफाइनल खेलमा गोर्खा लिजेन्ड्सले काठमाडौँ वारियर्स र क्यापिटल क्रिकेट क्लबले लन्चेस्टन नेपाली क्रिकेट क्लबलाई पराजित गरेको थियो। टिएनसिए टि–२० च्याम्पियनसिपको फाइनल खेल अगाडी च्यारिटी खेलको आयोजना गरिएको टिएनसीयका अध्यक्ष कमल भण्डारीले जानकारी दिए। 

भोलि बिहान ९ बजे तास्मानियामा रहेका नेपाली सामाजिक संघ–संस्था र व्यवसायीक संस्थाबीच खेल हुने छ। उक्त च्यारीटी खेलबाट उठेको रकम नेपालको क्रिकेटको विकासमा खर्च गरिने उनले बताए। केबीसी खबरसँग कुरा गर्दै अध्यक्ष भण्डारीले भने, च्यारीटी गेमबाट संकलन भएको रकम नेपालको ग्रामिण क्षेत्रमा क्रिकेट नेट्स बनाइने छ। कहाँ र कसलाई दिने भन्नेबारे एक हत्तापछि सार्वजकि गरिने छ। 

भोली हुने फाइनल खेल हेर्न क्रिकेट खेलप्रति रुचि राख्ने सम्पूर्ण तास्मानियावासीलाई उपस्थितिका लागि अध्यक्ष भण्डारीले आग्रह गरेका छन्। फाइनल खेलपछि हुने पुरस्कार वितरण समारोहमा लेबर पार्टीका जस वीली, जोन कमरा र नेपाली संघ–संस्थाका पदाधिकारीहरुको उपस्थिति रहने उनले जानकारी दिए। 

टि–२० फर्मेटमा खेलाइने प्रतियोगितामा तास्मानियामा रहेका ७ नेपाली टिम सहभागी भएका थिए। जसमा गोर्खा लिजेन्ड्स, लान्सेस्टन नेपाली क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, काठमाडौँ वारियर्स, यती क्रिकेट क्लब, मुनलाइट राइनोज क्रिकेट क्लब र क्यापिटल क्रिकेट क्लब रहेका छन्। मार्च २ तारिख शनिबारबाट प्रतियोगिता सुरु भएको थियो।

तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको टाइटल स्पोन्सर ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन रहेको छ। ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसनले टिएनसिए टि–२० च्याम्पियनसिप प्रतियोगितालाई विगत तीन वर्षदेखि सहयोग गर्दै आएको छ। ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै देश विदेशमा राम्रो पहिचान बनाएको छ। ग्रेस इन्टरनेशनलले नेपाल लगायत विश्वका ७ देशका २७ शाखाबाट सेवा दिँदै आएको छ।

टिएनसिएले तास्मानियमा विभिन्न क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। खेलको माध्यमबाट टिएनसिएले यहाँका नेपाली संघ–संस्थासँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको छ।