सेन्टजर्ज नेप्लिज क्लबले जित्यो १३ औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि

सेन्टजर्ज नेप्लिज क्लबले जित्यो १३ औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि


मेलबर्न अष्ट्रेलिया । मेलबर्नको यती फुटबल क्लबले आयोजना गरेको १३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सिड्नीको नेपाली फुटबल क्लब सेन्टजर्जले जितेको छ। आइतबार मेलबर्नको डरेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टरमा भएको फाइनल खेलमा यूनाइटेड फुटबल क्लबलाई हराउँदै सेन्टजर्जले उपाधि कब्जा गरेको हो। निर्धारित समयमा दुबै टिमले एक–एकको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा सेन्टजर्ज नेपाली क्लबले युनाइटेड फुटबल क्लबलाई ७–६ गोलले पराजित गरेको हो। उपाधि जितेको सेन्ट जर्ज नेपाली क्लबले १२ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार पाएको छ। उपविजेता बनेको युनाइटेड एफसीले ४ हजार पाँच सय अष्ट्रेलियन डलर नगद र ट्रर्फी प्राप्त गरेको छ।

सर्वाधिक गोलकर्ता यति एफसीका आशिष लामा, उत्कृष्ट गोल किपर सेन्टजर्जका मिलन गिरी, फाइनल खेलको म्यान अफ द म्याच सेन्टजर्जका रुपक लामा घोषित भएका थिए। फेयर प्ले अवार्ड भने नेप्लिज राईनो फुटबल क्लबले पायो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी आशिष चौधरी घोषित भएका थिए। खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी र दुई सय अष्ट्रेलियन डलर पुरस्कार प्रदान गरिएको यती फुटबल क्लबका अध्यक्ष कर्ण रानाले जानकारी दिए। यस्तै ३५ वर्षभन्दा माथिको उमेर समूह तर्फको उपाधि यति फुटबल क्लब मेलबर्नले जितेको छ। फाइनल खेलमा यतीले क्रेगीबर्न एफसीलाई ३–२ ले पराजित गरेको थियो। उपाधि जितेको यति फुटबल क्लबले दुई हजार पाँच सय अष्ट्रेलियन डलर नगद पुरस्कार पाएको छ भने उपबिजेता बनेको क्रेगीबर्न एफसीले एक हजार अष्ट्रेलियन डलरमा चित्त बुझायो । प्रतियोगितामा १५ टिमको सहभागिता जनाएको अध्यक्ष रानाले जानकारी दिए। फाईनल खेलको म्यान अफ दि म्याच यतीका बिशन गुरुङ भए भने प्लेयर अफ दि टुर्नामेन्ट यती फुटबल क्लबकै निरञ्जन गुरुङ घोषित भए। एमसी आर्थर सिड्नी क्लबका राजेश श्रेष्ठले प्रतियोगितामा सर्वाधिक गोल गरेका थिए। फेयर प्लेको अवार्ड गोल्डकोष्ट एफसी क्लबले पायो। ३५ वर्षभन्दा माथिको उमेर समूह तर्फका उत्कृष्ट खेलाडीलाई ट्रफी र दुई सय अष्ट्रेलियन डलर पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताका विजयी टिमलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पुरस्कार वितरण गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा एनआरएनए भिक्टोरियाका पूर्व संयोजक हरि खड्का, नेपाल फुटबल संघ (एन्फा) बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कँडेल कन्सल्टेन्सीका प्रमुख राज कँडेल, डेराबिन सहरका प्रमुख सुजान न्युटनलगायत नेपाली संघ संस्थाका अगुवाहरूको उपस्थिति रहेको थियो। अस्ट्रेलियामा पहिलो पटक एकै प्रतियोगिता पाँच जना नेपाली रेफ्रीले संचालन गरेका थिए। अन्तर्राष्ट्रिय खेलमा समेत निर्णायक भूमिका निर्वाह गरिसकेका प्रकाश श्रेष्ठ र सुदिश पाण्डेका साथै रेफ्री प्रजेश अमात्य, सपन बस्नेत र अमृत कुमार श्रेष्ठले खेल संचालन गरेका थिए। सन् २००१ मा स्थापना गरिएको यति फुटबल क्लबले प्रत्येक वर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ। अघिल्लो वर्ष सम्पन्न भएको बाह्रौँ कँडेल कन्सल्टेन्सी कप उपाधि सिड्नीको बेनी फुटबल क्लबले जितेको थियो।