एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


काठमाडौं ।

युइएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा परिजित गर्यो।

राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ को नतिजा निस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा एट्लेटिको मड्रिड ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश गरेको हो।

पहिलो लेगमा २–१ गोल अन्तरले इन्टर मिलान विजयी भएको थियो। तर, दोस्रो लेगमा एट्लेटिको मड्रिडले २–१ को नतिजा निकाल्दा समग्रमा २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो।

निर्धारित समयको ३३ औं मिनेटमा इन्टर मिलानलाई फेडरिको डिमार्कोले निकोलो बारेलाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, २ मिनेटमै एट्लेटिकोले बराबरी गोल फर्कायो। ३५ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गरे। ८७ औं मिनेटमा मेफिस डिपेले जर्ज मोरोडियोको पासमा गोल गरेपछि एट्लेटिको मड्रिडले २–१ को अग्रता बनायो । त्यसपछि दुवै टीमबाट गोल भएन।

अतिरिक्त ३० मिनेट थप गरिएको थियो। त्यसमा पनि गोल ननिस्किएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो। जसमा एट्लेटिकोले ३–२ ले बाजी मार्न सफल भयो। एट्लेटिकोका लागि मेफिस डिपे, रोड्रिगो र एन्जल कोरेराले गरेको प्रहार गोलमा परिणत भएको थियो।

उता, इन्टरका लागि हकन चालहानोउ र फ्रान्सेस्को एसरबीले मात्र गोल गरेका थिए। ३ खेलाडीको प्रहार मिस भएको थियो।