१९औं न्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले उचाल्यो, क्यानको सहयोगका लागि गाला डिनर

१९औं न्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले उचाल्यो, क्यानको सहयोगका लागि गाला डिनर


मेलबर्न अष्ट्रेलिया ।

नेपाली संघ भिक्टोरिया (न्याभ)ले आयोजना गरेको १९औं न्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले जितेको छ। आइतबार भएको फाइनल खेलमा ट्राइकनले एक्स्पर्ट सगरमाथा ब्लुजलाई ६ विकेटले हराउँदै उपाधि कब्जा गरेको हो।

एक्स्पर्टले दिएको १५४ रनको लक्ष्य ट्राइकनले ४ विकेट गुमाउँदै १८.५ ओभरमा भेट्टयो। १७ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधिको विजेता ट्राइकनले ट्रफी मेडलसहित नगद ५ हजार अष्ट्रेलियन डलर पाएको छ। उपविजेतामा चित्त बुझाएको एक्स्पर्ट सगरमाथा ब्लुजले १ हजार पाँच सय अष्ट्रेलियन डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

न्याभ कपको प्लेयर अफ द सिरिजको रुपमा सागर खड्का घोषित भए भने फाइनल खेलमा ट्राइकनका खेलाडी सन्जोग दाहाल प्लेयर अफ द म्याच घोषित भएका छन्। यस्तै बेस्ट ब्याटिंग सागर खड्का, बेस्ट बलर शेखर अर्याल, बेस्ट फिल्डर रविन्द्र गुरुंङ घोषित भएका छन्।

उपाधि विजेता ट्राइकन क्रिकेट क्लबले पहिलो पटक न्याभ कप खेलेको थियो।

जेसी डोनेथ रिजर्भमा सम्पन्न भएको फाइनल खेलमा नेपाली क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय खेलाडीहरू दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल सहभागी भएका थिए। उनीहरुले खेलाडीहरू तथा बालबालिकाहरूसँग क्रिकेट क्याम्प पनि गरेका थिए।

आइतबार गाला डिनरसहित अवार्ड सेरेमोनी मार्फत विजेता, उपविजेता टोली तथा म्यान अफ द म्याचलाई अवार्डसहित सम्मान गरिएको थियो। उक्त अवसरमा न्याभ च्यारिटी कपको विजेता क्रयागिबर्न र उपविजेता डोरिन मरन्डाको टोलीलाई पनि अवार्डसहित सम्मान गरिएको थियो।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द, नेपाली राष्ट्रिय क्रिकेट खेलाडी तथा अलराउन्डर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई उनीहरुले नेपाली क्रिकेटलाई विश्वसामु पुर्याउन गरेको मिहेनतको सम्मान गर्दै अवार्डसहित अभिनन्दन गरिएको थियो।

न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले यसपटकको न्याभ कप भव्य रुपमा सम्पन्न भएको भन्दै यसमा साथ दिने सम्पूर्ण प्रति आभार व्यक्त गरे। क्यान अध्यक्ष चतुर बहादुर चन्दले न्याभसँग क्यानले सहकार्य गर्न पाउँदा नेपालको क्रिकेटलाई अष्ट्रेलिया सामु ल्याउन मद्धत पुगेको विश्वास व्यक्त गरे। उनले अन्य देशमा रहेका नेपालीहरुले पनि न्याभ बाट यसप्रकारका सकारात्मक कार्यहरूको प्रेरणा लिनुपर्ने बताए। यस्तै राष्ट्रिय खेलाडी द्वय कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले न्याभ कपमा सहभागी भएर यहाँका नेपाली खेलाडीहरूसँग क्रिकेटको ज्ञान आदान प्रदान गर्न पाउँदा उत्साह प्रकट गर्दै अवसरको निम्ति न्याभलाई धन्यवाद दिए।

गत नोभेम्बरमा न्याभ र नेपाली क्रिकेट संघ (क्यान)वीच भएको समझदारी अन्तर्गत न्याभ कपमा नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्ने तथा च्यारिटी मार्फत संकलित भएको रकम क्यानलाई दिने सहमति अनुसार च्यारिटीमार्फत संकलित ५ हजार डलर नगद समेत क्यानलाई दिने घोषणा गरिएको थियो।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, उनकी पत्नी बसुधा पोखरेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र उनकी पत्नी अन्जु चन्द, भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र उनकी श्रीमती लक्ष्मी योन्जन, नेपाली राष्ट्रिय खेलाडीहरू कुशल मल्ल, दीपेन्द्र सिंह ऐरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा वेस्टर्न मेट्रोपोलिटन क्षेत्रका सांसद ट्रंग लू, थमस्टाउनको तर्फबाट सांसद ब्राउनलिन हाल्फपेन्नी, सांसद क्याथलिन म्याथ्यू वार्डको तर्फबाट सल्लाहकार अर्चित अग्रवाल, अन्तराष्ट्रिय क्रिकेट काउन्सिलका डेभलपमेन्ट म्यानेजर अमिमुल इस्लामले सहभागिता जनाएका थिए।

मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक शंकर धरेल, सहप्रयोजक होम्स कलेजका विजनेश डेभलपमेन्ट म्यानेजर इन्द्र अधिकारीसहित सम्पूर्ण प्रायोजक, सहयोगदाता, क्रिकेट क्लबहरु, च्यारिटी कप सहभागी टोलीलाई सम्मान गरिएको थियो।

उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन न्याभ सचिव आलोक पौडेल र कार्यकारी सदस्य अनिश शर्माले गरेका थिए।
गाला डिनरमा २५० भन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको थियो।