बाबर हायातको शतकमा हङकङले नेपाललाई दियो २१३ रनको विशाल लक्ष्य

बाबर हायातको शतकमा हङकङले नेपाललाई दियो २१३ रनको विशाल लक्ष्य


काठमाडौं ।

टी–२० आई खेलमा घरेलु टोली हङकङले नेपाललाई २ सय १३ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए। निर्धारित समयमा हङकङले ६ विकेट गुमाएर २ सय १२ रनको विशाल योगफल बनायो।

हङकङका लागि बाबर हायातले विष्फोटक इनिङ खेले । ४९ बलको सामना गरेका हायातले १३ छक्का र ३ चौकाको मद्दतमा ११० रनको शतकीय पारी खेले। उनलाई आकाश चन्दले क्याप्टेन रोहित पौडेलको हातबाट १९ औं ओभरमा पुगेर आउट गराए।

यस्तै, हङकङका लागि अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन जोड्दा कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा शूल्य रनमै आउट भए।

नेपालका लागि आकाश चन्दले सर्वाधिक तीन विकेट लिदा प्रतिश जिसी र रसिद खानले समान एक-एक विकेट लिए। आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दलाई डेब्यू गराएको थियो। उनले आफ्नो काविलियत पहिलो मैत्रिपूर्ण खेलमा हङकङको तीन विकेट लिएर सावित पनि गरे ।
चन्दले नेपालबाट दुई ओडीआई खेल खेलेका छन्।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनुअघि आज मैत्रिपूर्ण खेल खेलाइएको हो। नेपाल र हङकङबीच हालसम्म ७ टी–२० आई खेल हुँदा नेपाल ४ खेलमा विजयी र ३ खेलमा पराजित भएको छ।

त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ। नेपालको प्लेइङ ११ मा आज रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द छन्।