युरोपा लिगमा लिभरपुलको शानदार जित

युरोपा लिगमा लिभरपुलको शानदार जित


काठमाडौं ।

युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ। विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक एक गोल गरेका थिए। स्पार्ता प्रागले उपहार गोलमार्फत अग्रता कम गरेको थियो।

छैटौं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। २५ औं मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए। उनैले पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा लिभरपुल ३–० ले अघि बढेको थियो।

४६ औं मिनेटमा लिभरपुलका कोनोर ब्राड्लेले आत्मघाति गोल गरेपछि स्पार्ताले अन्तर ३-१ मा झारेको थियो। ५३ औं मिनेटमा डियान र दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा स्जोबोसजलाईले गोल गरेपछि लिभरपुल अन्ततः ५–१ को जितका साथ पहिलो लेगमा विजयी भयो। दोस्रो लेग मार्च १५ तारिखमा हुने छ।