सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


काठमाडौं ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। मंगलबार राति भएको खेलमा सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो।

पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को जित निकाल्न सफल भयो। मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो। म्यानुएल अकांजीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। उनलाई जुलियन अल्भारेजले गोल गर्न महत्वपूर्ण सहयोग गरे।

त्यसपछि ९ औं मिनेटमा अल्भारेजले आफै गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो। तर, २९ औं मिनेटमा मोहम्मद इलुनोसीले गोल गरेपछि एफसी कोपनहेगनले अन्तर २–१ मा झारेको थियो। तर, पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ३–१ को सहज अवस्थामा लगे । दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि सिटीले समग्रमा ६–२ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो।

यसैगरी अर्को खेलबाट स्पेनिस क्लब रियल मड्रिडले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ। मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइप्जिङसँग एक एक गोलको बराबरी खेले पनि पहिलो लेगमा जित हात पारेको रियललाई अन्तिम ८ मा पुग्न पर्याप्त भयो।

पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो। मंगलबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दा रियल समग्रमा २–१ को नतिजाका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो। रियलले ६५ औं मिनेटमा भिनिसियस जुनियको गोलमा अग्रता लिएको थियो। ६८ औं मिनेटमा विल ओर्वनले लाइप्जिङका लागि बराबरी गोल गरेका थिए।