मलेसियामा स्वर्णपदक जितेकी तेक्वान्दो खेलाडीको सम्मान

मलेसियामा स्वर्णपदक जितेकी तेक्वान्दो खेलाडीको सम्मान


विराटनगर ।

अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छन्। मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘हर्याङ वारिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन्।

उनी एकल स्पिाइरिङ ४३ –५३ तौल समूहबाट स्वर्ण पदक र एकल प्याटन निलो पेटी समूहमा रजत पदक जित्न सफल भएकी हुन् । तामाङ पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्।

विगतमा पनि विभिन्न पदकहरू जितेकी छन्। तामाङले अन्तर्राष्ट्रिय स्तरमा पुगेर जितेको यो स्वर्ण पदक र रजत पदक अहिलेसम्मको ठूलो उपलब्धि भएको नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले बताए।

विश्व स्तरमा पुगेर तेक्वान्दो खेलाडी सजिनाले नेपालको नाम विश्वसामु उच्च राख्न सफल भएकी खेलाडीलाई संघीय सरकार र प्रदेश सरकारले सम्मान गरिनुपर्ने अध्यक्ष कार्कीले बताए।

स्वर्ण पदक जित्दै तामाङ बुधबार घर फर्किएकी छन्। उनलाई विराटनगर विमानस्थलमा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ। संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले तामाङलाई सम्मान गरेका हुन।

नेपालबाट प्रतिनिधित्व गर्दै सजिनासहित चारजना तेक्वान्दो खेलाडी र एकजना अम्पायरसहित पाँच जनाको टिम मेलेसिया १६ फागुनमा प्रस्थान गरेका थिए।

चारजना खेलाडीमध्ये वीरेन्द्र कुवँरले दुई विधामा दुई कास्य पदक जित्न सफल भए। नेपालबाट तामाङ, कुवरसहित खेलाडीहरू देवेन्द्र सुनार, कैलाश अर्याल र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाअध्यक्ष रहेका विक्रम बाठा मगर अम्पायरको भूमिका निर्भाह गर्दै मलेसिया गएका थिए।

उक्त प्रतियोगितामा विश्वभरका ३१ भन्दा बढी राष्ट्रका २ हजार चार सयभन्दा बढी तेक्वान्दोका खेलाडीहरुको सहभागिता थियो।