‘काँडेतार’ हेरेपछि खनाल भने : ‘नेपाल–भारत सिमानामा काँडे तार लगाऔँ’

‘काँडेतार’ हेरेपछि खनाल भने : ‘नेपाल–भारत सिमानामा काँडे तार लगाऔँ’


काठमाडौं ।

राष्ट्रवादी धारमा निर्माण गरिएको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ। शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए। यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु हलमा पुगेका थिए।

नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ। साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ।

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए।

फिल्म हेरेपछि नेता खनालले भने–‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ। म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन्। यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ।’

फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए। फिल्ममा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन्।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन्। मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन्। फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

फिल्मलाई बन्देप्रसाद र तारा थापा ’किम्भे’ ले सम्पादन गरेका छन्। नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन्।