इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डबीमा सिटीले बाजी मारेको छ। आइतबार राति भएको खेलमा १ गोलले पछि परेको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई अन्ततः ३–१ गोलले पराजित गरेको हो।

इथिहाड स्टेडियममा पाहुना टोली युनाइटेडले आठौं मिनेटमा अग्रता लिएको थियो । बु्रनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा सोही अग्रता कायम राखेको युनाइटेडले दोस्रो हाफमा भने लय गुमाउन पुग्दा उल्टै ३ गोल बेहोरेको थियो।

५६ औं मिनेटमा रोड्रिगोको पासमा फिल फोडेनले गोल गर्दै घरेलु टोली सिटीलाई एक एक गोलको बराबरीमा ल्याएका थिए। खेलको ९० औं मिनेटमा जुलियन अल्भारेजको पासमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता लियो। दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा रोड्रीको पासमा एर्लिङ हालान्डले गोल गरेपछि अन्ततः सिटी ३–१ गोलको पुनरागमन जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक लियो।

यो नतिजा पछि सिटी २७ खेलबाट ६२ अंकका साथ दोस्रो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको लिभरपुलले समान खेलबाट ६३ अंक बनाएको छ। सिटीसँग पराजित भएको युनाइटेड भने ४४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ।

प्रिमियर लिगमा एफसी बर्नमाउथले र्बनेलेलाई २–० गोल अन्तरले पराजित गरेको छ। बर्नमाउथ १३ औं स्थानमा रहेको छ भने बर्नले पुच्छारबाट दोस्रो स्थानमा छ।