हिटलर चरित्र निर्वाह गर्न चाहन्छु : हरिवंश आचार्य

हिटलर चरित्र निर्वाह गर्न चाहन्छु : हरिवंश आचार्य


काठमाडौं ।

अभिनेता हरिवंश आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’मा खलनायकको चरित्रमा देखिँदैछन्। फिल्मको फस्र्टलुक र टिजरमा उनलाई भिलेनका आंशिक रुप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ।

ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए। ‘फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक छ। जसरी बत्ति बाल्नका लागि पोजेटिभ र नेगेटिभ तार चाहिन्छ। त्यसरी नै फिल्मको बत्ति बाल्नका लागि पनि हिरो र भिलेन आवश्यक पर्छ,’उनले भने।

हरिवंशले फिल्ममा अझ दमदार ‘भिलेन’को भूमिकामा अभिनय गर्ने इच्छा रहेको सुनाए। ‘म हिटलर चरित्र निर्वाह गर्न चाहन्छु। किनकी मैले हरिबहादुरको जस्तो चरित्र पनि निभाएँ। त्यसकारण अझ शक्तिशाली चरित्रमा आफूलाई उभ्याउन चाहन्छु,’उनले भने।

हरिवंशका अनुसार नकारात्मक चरित्र खेल्दा उनले ढुंगाको चोट पनि खाएका छन्। ‘म गुहेश्वरी मन्दिरमा पुग्दा त्यहाँ फूल बेच्ने एक महिलाले मलाई ढुंगाले नै हिर्काउनुभयो। किनकी मैले नकारात्मक चरित्र निर्वाह गर्दा त्यो उहाँलाई मनपरेको रहेनछ,’उनले आफ्नो किस्सा सुनाए।

हरिवंशले ‘महाजात्रा’मा राम्रो मान्छे कसरी नराम्रो बन्छ भन्ने कुरा आफ्नो चरित्रमा दर्शकले हेर्न पाउने बताए । ‘मेरो चरित्र देशलाई भीरबाट खसाउने खलपात्रको छ,’उनले भने।

‘महाजात्रा’का लेखक तथा निर्देशक प्रदीप भट्टराईले बेरोजगार युवालाई राजनीतिक दलका नेताले कसरी दुरुपयोग गरेका छन् भनेर देखाउनका लागि ‘महाजात्रा’ बनाएको खुलाए। ‘म सिक्वेलभन्दा अलिक फरक कथामा फिल्म बनाउन चाहन्थें। ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि अलिक फरक कथामा फिल्म बनाउन मन थियो। तर युवालाई कसरी नेताले दुरुपयोग गरिरहेका छन् भन्ने कुरा दिमागमा आएपछि ‘महाजात्रा’ लेखें,’उनले भने।

ट्रेलरमा बेरोजगार युवाहरुका पैसा कमाउने चाहना र पैसा कमाउनका लागि उनीहरु कुन हदसम्म काम गर्छन् भन्ने कथा देखाइएको छ। फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरेको छ। फिल्ममा जितबहादुर रुवालीको सहायक निर्देशन, पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व, कविराज गहतराजको नृत्य, आशिष अविरलको संगीत, शमशेर लामा शृंगार र रूपकप्रताप अधिकारीको प्रोडक्सन डिजाइन छ।