केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई


फागुन १९, काठमाडौँ । दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। आज यहाँस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो। टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्याे। एनआरटीका विवेक गुरुङको पेनाल्टी गोलपोस्टभन्दा परबाट बाहिरिएपछि एनआरटी उपविजेतामा चित्त बुझाउन बाध्य भयो।

मच्छिन्द्रका लागि सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे भने एनआरटीका लागि सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए।

उपाधि विजेता मच्छिन्द्रले रु ११ लाख र ट्रफी प्राप्त गर्याे भने उपविजेता एनआरटीले रु पाँच लाख प्राप्त गर्याे। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको प्रतियोगितामा १० टोली सहभागी थिए।