तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको तयारी पुरा, उपाधिका लागि ७ टिम भिड्दै

तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको तयारी पुरा, उपाधिका लागि ७ टिम भिड्दै


होबार्ट तास्मानिया । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए)ले आयोजना गरेको तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिप २०२४ को सम्पुर्ण तयारी पुरा भएको छ। बिहीबार होबार्टमा टिएनसीएले पत्रकार सम्मेलनको आयोजना गरी भोलि अर्थात् मार्च २ तारिख (शनिबार) बाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाकारी गराइएको हो।

ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन टाइटल स्पोन्सर रहेको उक्त टुर्नामेन्टको ट्रफी तथा मेडल सार्वजनिक गरिएको छ। 

टि–२० फर्मेटमा खेलाइने प्रतियोगितामा तास्मानियामा रहेका ७ नेपाली टिम सहभागी हुने टिएनसीएका अध्यक्ष कमल भण्डारीले जानकारी दिए। उनका अनुसार गोर्खा लिजेन्ड्स, लान्सेस्टन नेपाली क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, काठमाडौँ वारियर्स, यती क्रिकेट क्लब, मुनलाइट राइनोज क्रिकेट क्लब र क्यापिटल क्रिकेट क्लब रहेका छन्। 

प्रतियोगिताको विजेता टिमले दुई हजार अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छ भने उपविजेता टिमलाई एक हजार अष्ट्रेलियन डलर नगद ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न अध्यक्ष भण्डारीले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, बिट बलर अफ द टुर्नामेन्ट, उत्कृष्ट फिल्डर, प्लेयर अफ द सिरिज र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिने उनले बताए। 

अध्यक्ष भण्डारीले भने, मार्च २, ९, र १० तारिख हुने खेलहरु क्लोक ओभल क्रिकेट मैदान होबार्टमा हुनेछन्। ३ मार्च तारिखमा हुने खेलहरु इभान्डेल क्रिकेट मैदान लान्सेस्टनमा र मार्च १६ र १७ मार्चमा हुने सेमिफाइनल र फाइनलका खेल क्लोक ओभल क्रिकेट मैदान होबार्टमा हुनेछन्। 

होबार्टको क्लोक ओभलमा हुने खेलको अम्पायर सीटीपीएल अम्पायर देव पौडेलले गर्नेछन् भने इभान्डेल क्रिकेट मैदान लान्सेस्टनमा हुने खेलको अम्पायर विवेक सेढाईले गर्ने सो अवसरमा जानकारी गराइयो। विकास सेढाई संयोजक रहेको उक्त प्रतियोगिताको अफिसियल कमेन्टटर निरञ्जन भण्डारी रहेका छन्। खेलहरू एक्सोटिक लेन युट्युब च्यानल मार्फत पनि प्रत्यक्ष प्रसारण गरिनेछ।

तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपमा स्वयंसेवक भएर काम गर्ने विद्यार्थीलाई टिएनसीएले प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताएका छन्। 

टिएनसीएले पहिलो र दोस्रो टी–२०  च्याम्पियनसिप सफलता पूर्वक सम्पन्न गरेको थियो। 

टिएनसिएले तास्मानियमा विभिन्न क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। खेलको माध्यमबाट टिएनसिएले यहाँका नेपाली संघ–संस्थासँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको छ। 

प्रतियोगिताको मुख्य प्रयोजक ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श तथा अध्यागमन सेवा उपलब्ध गराउँदै देश विदेशमा राम्रो पहिचान बनाएको छ। ग्रेस इन्टरनेशनलले नेपाल लगायत विश्वका ७ देशका २७ शाखाबाट सेवा दिँदै आएको छ।

तस्बिरः डिएमएस फोटा ग्राफी