गायक तथा सङ्गीतकार आचार्यको निधन

गायक तथा सङ्गीतकार आचार्यको निधन


काठमाडौँ ।

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन भएको छ। भजन शिरोमणिसमेत उपाधि पाएका उनको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको हो।

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए। अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन्। गायक आचार्यको पार्थिव शरीरलाई मङ्गलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने सङ्गीतकार सापकोटाले बताए। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशिल छन्।