मानव सेवा आश्रमको सहयोगार्थ मार्च २ तारिख मेलबर्नमा ‘आमा सेमिनार’

मानव सेवा आश्रमको सहयोगार्थ मार्च २ तारिख मेलबर्नमा ‘आमा सेमिनार’


मेलबर्न अष्ट्रेलिया ।

गोरखा समाज अष्ट्रेलिया र मानव सेवा आश्रमको सहजीकरणमा मेलर्बनमा फण्ड रेजिङ डिनर तथा आमा सेमिनार हुँदैछ। इस्टर्न वारियरर्स फुटबल क्लब मेलबर्नले आयोजना गरेको आमा सेमिनार मार्च २ तारिख स्थानीय ईस्टोनियन हाउसमा हुन लागेको हो ।  

सिड्नी, न्यूक्यासल र एडिलेडमा यसअघि सम्पन्न भएको आमा सेमिनार मार्च २ तारिख मेलबर्नमा हुन लागेको इस्टर्न वारियरर्स फुटबल क्लबका संरक्षक जोग लिम्बूले जानकारी दिए। मानव सेवा आश्रमको सहयोगार्थ हुने आमा सेमिनारमा मानव सेवा आश्रमको गतिविधिको विषयमा चर्चा हुनुका साथै यसको उद्देश्य प्राप्तिका लागि सहयोग आह्वान गरिनेछ । कार्यक्रमका सहभागिताका लागि आग्रह गर्दै संरक्षक लिम्बुले नेपालमा मानव सेवा गर्न चाहनेहरूको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

कार्यक्रमलाई भिक्टोरियाका विभिन्न सामाजिक संघ–सस्थाहरुले सहयोग गरेका छन् । कार्यक्रममा दुई सय जनाभन्दा बढी सहभागी हुने अपेक्षा छ । आमा सेमिनारबाट उठेको सबै पैसा मानव सेवा आश्रमलाई हस्तान्तरण गरिने भएकाले मानवता प्रेमले ओतप्रोत परोपकारी, सहयोगी सबै उदार भिक्टोरियावासी नेपालीलाई कार्यक्रममा सहभागी भइदिन उनले आग्रह गरेका छन् । 

गोरखा समाज अष्ट्रेलियाको पहलमा भएको मानवता प्रवर्द्धन अभियानलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले सहयोग गरेको छ। यसअघि नेपाल, कतार र बेलायतमा मानव सेवा आश्रमले आमा सेमिनार एवं मानवता प्रवर्द्धनका कार्यक्रम गरिसकेको छ। 

विसं २०८२ भित्र नेपालको सडकपेटीमा कसैले पनि अनाथ, अभिभावकविहीन, बेसहारा, सहयोगापेक्षी भएर बस्न नपर्ने राष्ट्र नेपाल निर्माण गर्ने दृढ सङ्कल्पलाई साकार पार्न एवं मानवता प्रवर्द्धन महाअभियानमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ।