एलए ग्यालेक्सीसँग बराबरीमा रोकियो इन्टर मियामी

एलए ग्यालेक्सीसँग बराबरीमा रोकियो इन्टर मियामी


काठमाडौँ ।

अमेरिकन मेजर सकर लिग अन्तर्गत इन्टर मियामीले एलए ग्यालेक्सीसँग बराबरी खेलेको छ। सोमबार बिहान सम्पन्न खेलमा इन्टर मियामी एलए ग्यालेक्सीसँग १–१ गोलको बराबरी खेलेको हो।

लियोनेल मेसीले खेलको ९२औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई हारबाट जोगाएका हुन्। उनले जोर्डी अल्बाको असिस्टमा गोल गरेका थिए। मेसीको नयाँ सिजनमा यो पहिलो गोल हो।

यसअघि डेजान जोभेलजीकले खेलको ७५औं मिनेटमा गोल गर्दै एलए ग्यालेक्सीलाई शुरुवाती अग्रता दिलाएका थिए।

यस खेलमा खेलको १३औं मिनेटमा एलए ग्यालेक्सीले पाएको पेनाल्टीको अवसरलाई रिकार्ड पुइगले गोलमा परिणत गर्न नसकेपछि शुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।त्यसैगरी यस खेलमा एलए ग्यालेक्सीकला मार्को डेलगाडोले खेलको ८८औ मिनेटमा दोहोरो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो।

यो बराबरीपछि इन्टर मियामीको २ खेलमा ४ अंक भएको छ भने एलए ग्यालेक्सीले पहिलो खेलमा एक अंक हासिल गरेको छ। इन्टर मियामीले अब अर्को खेल मार्च ३ मा ओरल्याण्ड सिटीविरुद्ध खेल्ने तालिका रहेको छ।